फाइल तस्वीर
काठमाडाैं- नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० अन्तर्गत सय मिटर ‘फ्रिस्टाइल’मा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्।
बुधबार ‘फ्रिस्टाइल’को पहिलो हिटमा उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन्।
शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए भने तेस्रोमा गौरिका आइन्। गौरिकाले ग्वामका खेलाडीलाई मात्रै पछि पारिन्।
सअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।
यसअघि उनले १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । उनले त्यसबेला २५ मिटर पुलमा भएको प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन्।
त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन्। समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन्। गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
टोकियो ओलम्पिकमा यसअघि अर्का नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले पुरुष १ सय मिटर फ्रिस्टाइल ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए।
पहिलो हिटमा पहिलो भएका हुने क्रममा सुरुका ५० मिटर २५.८१ सेकेन्डमै पार गरेका थिए। उनले दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई सुधार गरेका हुन्।
पहिलो हिटमा उनीसँगै भुटान, माल्दिभ्स, कोसोभो, गुयना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका गरी सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा सहभागी ७१ खेलाडीमध्ये उनी ५९औं स्थानमा रहे।
यसअघि जुडोकी सानिया भट्ट (महिला ४८ केजीमुनि) र सुटिङकी कल्पना परियार (महिला १० मिटर एयर राइफल) मा प्रतिस्पर्धा गरेका थिए। कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि यी दुवै खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भएको थियो।
अब एथलेटिक्सकी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।
यता, विश्व च्याम्पियनसिपमा भने उनले सन् २०१९ मा १ मिनेट ०.६२ सेकेन्डको उत्कृष्ट समय राखेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।