काठमाडौं– नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबी गरेका छन्।
सांसद (प्रतिनिधि सभा सदस्य) पदमा पुनर्बहालीको मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा रायमाझीले आफू अहिलेसम्म औपचारिक रुपमा एमाले प्रवश नगरेको जिकिर गरेका छन्।
रायमाझीले एमाले पार्टीको सदस्यता नलिएको पनि दाबी गरेका छन्। रायमाझीले आफू अहिले पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेको बताएका छन्।
'केपी ओलीले नेतृत्व गरेको, उहाँ अध्यक्ष भएको नेकपा एमालेमा आजसम्म म निवेदक औपचारिक रूपमा प्रवेश गरेको छैन। एमालेको पार्टीको सदस्यता लिएको छैन,' रायमाझीले रिटमा भनेका छन्, 'मिति २०७८।०३।२३ मा म निवेदकले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपि अनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन। नेकपा माओवादी (एकता केन्द्र) को केन्द्रीय समिति सदस्यमा म रहेको छु।'
राइमाझीले आफूलाई कारबाही गर्दा माओवादी केन्द्रले स्पष्टीकरण समेत नसोधेको पनि रिटमा जिकिर गरेका छन्।
'मलाई सफाइको मौका दिएको छैन। मलाई स्पष्टीकरण सोधे मैले दिने जवाफबाट पार्टीले मलाई कारबाही गर्ने ठाउँ नरहने हुँदा मेरो आँखा छलेर मलाई स्पष्टीकरणको पत्र नदिई मलाई दिने भनि लेखिएको मेरा नामको पत्र निर्वाचन आयोगमा बुझाएको रहेछ,' रायमाझीले रिटमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।