काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेका लुम्बिनी प्रदेश सांसदहरुले कारबाहीको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबार कार्यकारिणी समितिको बैठकबाट लुम्बिनी प्रदेशका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डे र कल्पना पाण्डेलाई कारबाही गरेपछि उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन्। पार्टीको आधिकारिकता यादवपक्षले पाएपछि दोस्रो पटक पार्टीको ह्विप उल्लंघन गरेको भन्दै जसपा कार्यकारिणी समितिले उनीहरुलाई कारबाही गरेको थियो।
‘हामी पहिला जसपा सांसद थियौं, त्यतिबेला पार्टीले ह्विप उल्लंघन गरेको भन्दै कारबाही गर्यो,’ नेपाल लाइभसँग कुरा गर्दै पाण्डेले भने,‘सर्वोच्चले सांसद पदमा पुनर्बहाली गरेपछि हामी जसपाको होइन, सर्वोच्चका माननीय भयौं। उपेन्द्रजीले कारबाही गर्नुको कुनै अर्थ छैन।’ आफूहरु तीनै जना सांसदलाई कारबाही गर्ने अधिकार अध्यक्ष यादवसँग नभएको पाण्डेले जिकिर गरे। उपेन्द्रपक्षले पार्टी आधिकारिता पाए पनि कारबाही गर्ने अधिकार नपाएको उनको दाबी छ।
यसअघि पार्टीको ह्विप उल्लंघन गरेको भन्दै जसपाले तीन जना सांसदलाई सांसद पदसमेत नरहनेगरी कारबाही गरेको थियो। लगत्तै सर्वोच्च अदालतमा रिट हालेपछि तीनै जना सांसद पुनर्बहाली भएका थिए। पाण्डे हाल भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीमा छन्। विजयबहादुर यादव भूमि व्यवस्थमन्त्री र कल्पना पाण्डे उद्योगमन्त्री छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।