|
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७८ बैशाख २० गते प्रदेश प्रमुखको रुपमा नियुक्त भइ आफ्नो जिम्मेवारी ग्रहण गरेको जानकारी गराउँदछु। विधि प्रक्रिया र संविधानलाई आत्मसात् गर्दै मैले २ महिना २४ दिन रहेर आफ्नो जिम्मेवारी पूरा गरिसकेको छु। यो अवधिभरमा मलाई साथ सहयोग गर्ने कार्यलयका कर्मचारीहरु, सचिवालयका कर्मचारीहरु, सुरक्षाकर्मी, लगायत सम्पूर्णमा विशेष धन्यवादसहित आभार व्यक्त गर्दछु।
नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु।
राजनीतिक चेतनासँगै करिब ४ दशक लामो समयदेखि निरन्तर सामाजिक रुपान्तरणमा क्रियाशील रहेर काम गरिरहँदा लाभको पद प्रति मैले कहिल्यै अपेक्षा गरिनँ। पार्टी नेतृत्वले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्दै आइरहेँ। २०६४ सालमा नेकपा एमालेबाट समानुपातिक सांसद भएपछि संविधान निर्माणको क्रममा राज्यको पुनर्संरचना तथा शक्तिको बाँडफाँड समितिमा रहेर नीति निर्माण तह एवम् प्रमुख पदहरुमा महिलाको समान सहभागिता सुनिश्चित गर्न आफ्नो भूमिकालाई सशक्त गराउँदै आएँ। पार्टी र अनेम संघको नेतृत्वमा रहेर पनि दलित, आदिवासी, मधेसी, मुस्लिम लगायत सिमान्तकृत समुदायको लैङ्गिक समानता र समावेशिताको मुद्दालाई निरन्तर वकालत गर्दै आएँ। पछिल्लो समय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को सिफारिसमा मैले आफ्नो जन्मस्थल कास्कीमा रहेर प्रदेश प्रमुखको जिम्म्मेवारी सम्हाल्ने अवसर पाएँ। प्रदेश प्रमुखले संविधानले दिएको अधिकार भित्र रहेर कर्तव्य निर्वाह गर्नु मूल धर्म हो। यो बीच मैले पनि संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको यहाँहरुलाई विदितै छ।  
प्रदेशको समृद्धिका लागि मैले पनि आफ्नो दृष्टिकोणसहित केही कार्यक्रम तय गरेको थिएँ। जसमध्ये 'प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम'लाई जोड दिएर प्रदेश सरकारमार्फत २२ करोड बजेट विनियोजन गर्न सफल भएको यहाँहरुमाझ जानकारी गराउन चाहन्छु । जसले सिङ्गो गण्डकी प्रदेशको शैक्षिक क्षेत्रको समग्र विकास भै असहाय र विपन्न परिवारका छोरा छोरीले समेत गुणस्तरीय शिक्षा सर्वसुलभ ढङ्गबाट प्राप्त गर्ने सुनिश्चितता सहितको जिम्मेवारी यस कार्यक्रमले बोकेको छ। यो कार्यक्रम नितान्त मुख्यमन्त्रीको मातहतमा संचालन हुने गरी अवधारणा तयार गरिएको छ।
विचार फरक हुन सक्छ, आस्था फरक हुन सक्छ, तर राष्ट्रिय समृद्धिको पक्षमा भने हामी साझा उद्देश्य लिएर अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ। मलाई विश्वास छ, अब आउने प्रदेश प्रमुखज्यूले यो कार्यक्रमलाई उद्देश्य अनुरुपनै अगाडि बढाउनु हुनेछ। यसको साथ साथै प्रदेशको वृहत्तर विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा विशेष जोड दिन पनि प्रदेश सरकारसँग समन्वय गरेको स्मरण गराउन चाहन्छु। प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकारबीच समन्वय गरेर अघि बढ्दा परीणाममुखी कार्य हुने अनुभूती गरेको छु।
२ महिना २४ दिनमै पद मुक्त हुँदा धेरै शुभेच्छुकहरुले फोन र म्यासेजबाट चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अपनाएर अघि बढेकाले पनि होला मलाई यी र यस्ता निर्णय निकै स्वभाविक लाग्छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दु:खी बनाएको छैन। तर, राजनीतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो। म समाजको विकासका लागि हिजो जसरी सक्रिय थिए, आउने दिनमा पनि मेरो हैसियतमा रहेर निरन्तर क्रियाशिल भइ नै रहनेछु।
अन्तमा, मेरो कार्यकाललाई सफल बनाउन पत्रकार मित्रहरुको पनि विशेष भूमिका रहेको छ। राज्यको चौथो अंगका रुपमा रहनु भएका पत्रकारहरुलाई विशेष धन्यवाद दिन चाहन्छु, साथै मेरो कार्यकालमा शुभेच्छा प्रकट गर्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ संस्था, शुभचिन्तकहरुमा पनि विशेष धन्यवाद दिदै मेरो भनाइ यही अन्त्य गर्दछु।
धन्यवाद।
सीताकुमारी पौडेल
नि. प्रदेश प्रमुख
|