काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा नदिए विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउने भएका छन्। प्रदेश सभामा अल्पमतमा परिसकेकाले मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने विपक्षी दलका सांसदहरुको भनाइ छ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्य (सांसद) इन्द्रजित थारु मुख्यमन्त्री पोखरेल स्पष्ट रुपमा अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुबाहेक अर्को विकल्प नभएको बताउँछन्।
मुख्यमन्त्रीले 'नैतिकता'का आधारमा राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाइउने उनको भनाइ छ।
‘मुख्यमन्त्री ज्यू प्रदेश सभामा अहिलेदेखि होइन दोस्रो पटक सपथ लिँदादेखि नै अल्पमतमा हुनुहुन्थ्यो। त्यतिबेला जर्बजस्त मुख्मयन्त्रीको सपथ लिनुभयो,’ नेपाल लाइभसँग कुरा गर्दै थारुले भने,‘जनता समाजवादी पार्टीले तीन जना सांसदलाई मन्त्री बनाएर आफ्नो पक्षमा पार्नुभएको थियो । उपेन्द्र जीहरुले आधिकारिकता पाएपछि प्रदेश सभाका तीन जना सांसदलाई कारबाही गरेपछि अहिले मुख्यमन्त्री स्पष्ट अल्पमतमा परिक्नुभयो।’
एमाले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका दुई सांसदले समेत साथ छोडिसकेकाले नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको उनको भनाइ छ।
मुख्यमन्त्रीले एक/दुई दिनभित्रै राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर हटाइने थारुको भनाइ छ। ‘मुख्यमन्त्रीले राजीनामा दिनुभएन भने हामीले अविश्वास प्रस्ताव दर्ता गरेर हटाउँछौं। अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुखकहाँ विशेष अधिवेसनको माग गर्छौं,’ थारुले भने, ‘अविश्वास प्रस्ताव सभामुखले अघि बढाउनुहुन्छ। त्यहीँ प्रक्रियाबाट मुख्यमन्त्री फालेर नयाँ मुख्यमन्त्री चयनको प्रक्रियामा जान्छौं।’
यसअघि वैशाखमा पेस भएको अविश्वास प्रस्तावको औचित्य समाप्त भइसकेकाले नयाँ अविश्वास प्रस्ताव दर्ता गरिने थारुले बताए। लुम्बिनीमा मुख्यमन्त्रीको पक्षमा ३८ जना छन्। गत वैशाखमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतको गठबन्धनबाट माओवादी सांसद कुलप्रसाद केसीको पक्षमा ४२ मत जुटाएर उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो।
पोखरेलको पक्षमा भएका ३८ जना मध्ये २ जना नेकपा एमालेको नेपाल पक्षका छन्। मुख्यमन्त्रीले अविस्वासको प्रस्तावको सामना गरेमा ३६ जनाले मात्रै उनलाई साथ दिने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।