काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरि गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु भइरहेको जनाएका छन्।
'केही अपराधिक, अराजक एवम् प्रतिगामी तत्वहरुले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याड, पार्टीको छाप र अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठवन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ' ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु हुँदै आएको भन्दै माओवादीले यस किसिमका किर्ते र झुट प्रचारको भ्रममा नपर्न पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा अनुरोध गरेको छ।
माओवादी केन्द्रले यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।