काठमाडौं- सत्तापक्षीय गठबन्धन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग सरकारमा सहभागी हुने/नहुनेबारे छलफल गरेर टुंगोमा पुग्ने भएको छ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाल लाइभलाई जानकारी दिइन्।
नेपाल पक्षसँग एकपटक कुरा गरेर सरकारमा जाने वा नजाने टुंगोमा पुग्नेबारे बैठकमा छलफल भएको उनले बताइन्। 'उहाँलाई राखेरै पछि कुरा गर्ने भन्ने भयो, एकचोटी उहाँसँग सल्लाह गरेर सरकारमा जाने कि नजाने टुंग्याउने भन्ने भयो,' पौडेलले भनिन्, 'बैठकमा सरकार छिटो बनाएर प्रभावकारी काम गर्ने भन्नेबारे कुरा भएको छ।'
भागबन्डाका विषयमा सरकारमा जाने पक्षहरु बसेर एक दुई दिन भित्रै टुंगोमा पुग्नेबारे कुराकानी भएको उनको भनाइ छ। 'उपेन्द्रजीहरुको पार्टीमा देखिएको समस्या पनि रहेन र अब अवस्था सहज भएकाले आज र भोलिमा सरकारबारे टुंगोमा पुग्नुपर्छ भन्ने सुझाव दिने काम भयो' उनले भनिन्।
कोरोनाविरुद्धको खोपलाई प्रभावकारी बनाउने, स्थानीय तहहरुमार्फत खोप लागाउने कार्यलाई व्यवस्थित गर्ने लगायतका विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' , प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट डा. विजय पौडेल बैठकमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।