काठमाडौं–सत्तापक्षीय गठबन्धनको बैठक सुरु भएको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न गठबन्धनको बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट डा. विजय पौडेल बैठकमा सहभागी छन्।
बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' , प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।
बैठकले मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने जनाइएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए।
त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।