फाइल तस्वीर
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबारदेखि जारी छ।
निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा यादवपक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन्।
आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने एक नेताले बताए।
यसअघि हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको छ। दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता भएका छन्।
जसपा एकीकृत भए पनि संसदीय दलको विधान तत्कालीन राजपाबाट महन्थ ठाकुर र तत्कालीन समाजवादी पार्टीबाट उपेन्द्र यादव भएका थिए। पार्टी एक भए पनि दलको विभान छुट्टाछुट्टै थियो।
निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि उनी नै दलको नेता भएका हुन्।मंगलबारको बैठकमा महन्थपक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएनन्।
साथै हिजोको बैठकले लुम्बिनी प्रदेशका जसपाका तनि सांसदलाई कारबाही गरेको छ। बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।