कांग्रेस सांसद डिला संग्रौला, फाइल तस्वीर
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद संग्रौलाले संविधानको कार्यान्वयन, जनताको जीवनरक्षा एवम् जीविकोपार्जनका लागि सरकारले न्यूनतम साझा कार्यक्र ल्याउनुपर्ने बताइन्।
देशले अकर्मण्य र हठी सरकारबाट मुक्ति पाएको उल्लेख गर्दै सांसद संग्रौलाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न नहुने बताइन्।
'भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो सरकार जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेको छ,' संग्रौलाले भनिन्, 'वास्तवमा संविधानको भावना विपरीत दुई–दुई पटक प्रतिनिधिसभा विघटनका साथै संविधानको धारा ७६ (५) अनुसार बहुमत प्राप्त गर्दाको परिणाम हो। संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतबाट भएकाले यो सरकार परमादेशबाट हैन्, जनादेशबाट बनेको हो।'
संग्रौलाले कोरोना भाइरसको संक्रमण रोकथाम र व्यवस्थापनमा विशेष जोड दिनुपर्ने पनि बताइन्। 'कोरोना संक्रमणको व्यवस्थापनको लागि सर्वप्रथम बिशेषज्ञको संयन्त्रमार्फत चिकित्सकहरुलाई समावेश गरी परामर्श लिने र प्रत्येक नेपालीलाई कोरोनाविरुद्धको खोप पहिलो आवश्यकता हो, त्यसको लागि कूटनीतिक पहल गरिनुपर्दछ,' संग्रौलाले भनिन्।
कोरोनाको महामारीका कारण लाखौं मानिसले रोजगारी गुमाएकाले उनीहरुका लागि तत्काल राहतको व्यवस्था एवम् विदेशबाट आएका नेपालीहरुको पुन:स्थापनाका साथै रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने पनि संग्रौलाको भनाइ छ।
सांसद संग्रौलाले विगतमा शान्ति सुरक्षा अस्तव्यस्त रहेको र दण्डहीनता बढेर गएको उल्लेख गर्दै दण्डहीनताको अन्त्य हुनुपर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।