काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका ३ जना सांसदलाई कारबाही गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले नेपाल लाइभलाई जानकारी दिए।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए।
अविश्वास प्रस्तावको पक्षमा रहने पार्टीको निर्णय विपरीत सरकारको पक्षमा लागेर मन्त्री बनेको भन्दै जसपाले गत वैशाखमै उनीहरुलाई कारबाही गरेका पत्र प्रदेश सभा सचिवालयमा बुझाएको थियो।
जसपाको पत्रानुसार प्रदेश सभाले चारै जनाको सांसद पद नरहेको सूचना पनि निकालेको थियो। तर, उनीहरु उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको जेठ ३ गतेको इजलासले ४ जनाको हकमा गरिएको कारबाही कार्यान्वयन नगर्न भन्दै पुनर्बहाली हुने आदेश जारी गरेको थियो।
सर्वोच्चको आदेशानुसार पुनर्बहाली भएका ४ जनामध्ये ३ जनालाई जसपाले पुन: सांसद पदबाट हटाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।