गौर– रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको राजीनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन्।
मेयर पटेलले कोरोना महामारी तथा लकडाउनबाट सिर्जित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामाग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकाइछिपाइ गाड्न खोजेको स्थानीयको आरोप छ।
मंगलबार गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न सयौंको संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजीनामा माग्नुका साथै प्रदेश सरकारका विरुद्ध समेत नाराबाजी गरेका छन्।
प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफूलाई आर्थिक लाभ नहुने देखेपछि राहतको सामाग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ। प्रदेश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधिलगायतको सामाग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामाग्री 'नियन्त्रणमा' लिएका छन्।
प्रदर्शनमा सहभागी स्थानीय राजेश यादवले मेयरले राजीनामा नदिए थप आन्दोलन चर्काउने बताए। जनताको लागि प्राप्त भएको राहत सामाग्री कुहाएर मेयरले जनताको भावनासँग खेलवाड गरेकोले पटेलले नगरप्रमुख पदमा बसिरहने नैतिकता गुमाइसकेको यादवको भनाइ छ।
'कोरोनाबाट आक्रान्त रहेको बेला प्रदेश सरकारसहित विभिन्न निकायबाट प्राप्त लाखौं रुपैयाँको राहत चामल, दाल, औषधि लगायतका सामाग्री नगरवासीलाई वितरण नगरी स्टोरमा राखेर कुहाउने र लुकाइछिपाइ जमिनमा गाड्न खोज्ने मेयरले राजीनामा दिनुपर्छ,' स्थानीय यादवले भने।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशीले विभिन्न निकायबाट प्राप्त सामग्री गोदाममा राखिएको र छानो चुहिएर पानीले भिजेका कारण काम नलाग्ने अवस्थामा पुगेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।