गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विपक्षमै थिए, महन्थ ठाकुर। सोही दिन जारी जसपाको विज्ञप्तिमा ठाकुर र उपेन्द्र यादवको हस्ताक्षर छ। भनिएको छ- 'प्रतिनिधि सभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो। यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो। तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।' त्यतिबेला संसद विघटनविरुद्ध छिटो प्रतिक्रिया व्यक्त गर्नेमा यो पार्टी अग्रस्थानमै थियो। प्रतिक्रियाको त्यो हतारो जसपाको प्रष्टता पनि थियो।
तर, ओलीको कदमलाई अदालतले असंवैधानिक ठहर गर्यो। जब ओलीकै कदम असंवैधानिक भयो, त्यसपछि भने ठाकुरका निम्ति ओली प्रिय बन्न थाले। बालुवाटार धाइरहन थाले। सार्वजनिक कार्यक्रम र अन्तर्वार्तामा ओलीको प्रशंसा गर्न थाले। ओलीसँग गरेका वाचा बन्धनको कुरा गर्न थाले। केही वर्षअघिका र केही महिनायताका घटनाक्रम केलाउँदा भन्न सकिन्छ, ठाकुरलाई ओली होइन, लोकतन्त्रमाथि 'कू' गरेका ओली प्रिय भए। जीवनको उर्जाशील समयमा लोकतन्त्रकै लागि लडेका ठाकुरलाई ओली प्रिय लाग्ने समय सन्दर्भ साह्रै अनौठो रह्यो।
ठाकुरलाई संविधान मन परेको थिएन। संविधान जारी हुन नदिन र जारी भइसकेपछि त्यसका विरुद्धमा कठोर संघर्ष गरेका थिए उनले। त्यतिञ्जेल उनको आक्रोशको केन्द्रमा ओली पनि थिए, ओली मात्रै चाहिँ थिएनन्। तर, कुनै समय यस्तो थियो, राजनीतिक आरोप-प्रत्यारोपको दुई ध्रुवमा एकातिर ओली थिए, अर्कोतिर ठाकुर र राजेन्द्र महतो। जब ओलीबाट संविधान नै असुरक्षित हुन थाल्यो, तब यी दुवै ध्रुवको मिलन सम्भव भयो। ठाकुरले ओलीलाई साथ दिनुको अन्तर्य यतै कतै रहेको बुझ्न सकिन्छ।
ठाकुरले ओलीलाई त्यतिबेलासम्म छाडेनन्, जबसम्म अदालतले ओलीलाई बालुवाटारबाट बाहिर हुत्याएन। यसरी ओलीको प्रतिगमनले उनलाई मात्रै पराजित गरेन, ठाकुरको राजनीतिक विगत र वर्तमानबीच ठूलो विरोधाभाष सिर्जना गर्यो।
लोकतन्त्रका लागि लामो संघर्ष गरेका ठाकुरको छवि आजको दिनमा फुटनोटमा सिमित भएको छ, प्रतिगमनका मतियार भन्ने छविचाहिँ हेडलाइन। उनी दिन प्रतिदिन निरीह भएका छन्।
ओलीको साथ लागेपछि ठाकुरले पार्टीभित्र ओलीकै शैली अपनाउन खोजेका थिए। बैठकमा नबस्ने तर एकतर्फी रुपमा पहिलो अध्यक्ष हुँ, मलाई अधिकार छ भन्ने शैली अपनाइरहेका थिए। सोही अनुसार उनले गत जेठ ३ गतेदेखि लागू हुने गरी केन्द्रीय कार्यकारिणी समितिका २० जनालाई पदमुक्त गर्दै आफू पक्षका नेता थप गरेका थिए। ठाकुरको यो कदमका सन्दर्भमा पार्टीभित्रै सन्देह प्रकट भएका छन्। उपेन्द्र यादव पक्षका नेताहरुले त किर्ते गरिएको आरोप पनि लगाएका छन्। पार्टीभित्र अल्पमत वा बहुमतमा पर्नु स्वाभाविक हो, तर ठाकुर जत्तिको नेतालाई किर्तेको आरोप लाग्नु स्वाभाविक होइन। तर, ओलीलाई साथ दिने एक सूत्रीय नशामा ठाकुरका लागि सबै स्वाभाविक भइदियो। भनिन्छ- 'प्रेम र युद्धमा सबै जायज हुन्छ।' सायद ठाकुर ओलीसँगको प्रेममा थिए।
कांग्रेसमा हुँदा होस् वा त्यसपछि तमलोपा र राजपामा हुँदा, उनी सम्मानित थिए। लोकतन्त्र र अग्रगमनका सन्दर्भमा उनको पक्षधरतामाथि कसैले शंका गरेका थिएनन्। तर, राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुग्दा उनी प्रतिगमनको मतियारको धब्बा बोक्न बाध्य भएका छन्। राजनीतिलाई विगतसँग तुलना गर्दा उनी चम्किलै देखिएलान्, वर्तमान र भविष्य भने उनका निम्ति दिक्कलाग्दो हुनेछ।
निर्वाचन आयोगको सोमबारको फैसलासँगै ठाकुर दलविहीन बन्न पुगेका छन्। जीवनको पूर्वार्द्धदेखि राजनीतिमा होमिएका उनी उत्तरार्द्धमा अनौठो संयोगसमक्ष आइपुगेका छन्। आयोगले उनी पक्षलाई छुट्टै दल खोल्ने अवसर दिएको छ। तर, राजनीतिक रुपमा पराजित ठाकुरसँग पार्टी गठनका लागि अपिल गर्ने नैतिक बल भने सकिएको छ। सत्ताको खेलमा नलाग्ने भन्दाभन्दै मध्यरातमा 'राष्ट्रपति कार्यालयमा चिया' खान गएर प्रधानमन्त्री ओलीको प्रतिगमनमा साथ दिएका उनीसँग पार्टी विभाजनका लागि भूमिका खेलेको आरोप पनि छ। विभाजन गर्नेहरुका सन्दर्भमा नेपाली जनमत निकै अहिष्णु हुने गरेको छ। त्यो ठाकुरको हकमा पनि लागू हुनेछ।
राजनीतिलाई सम्भावनाको खेल पनि भनिन्छ, ठाकुरलाई भने सम्भावनाको सिर्जना गर्नुपर्नेछ। त्यसका लागि ठाकुरले आफूलाई कसरी प्रस्तुत गर्छन्, त्यो भने आगामी दिनमै देखिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।