काठमाडौं– जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ।
चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ। प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्।
जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ। यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसिया पाँचौँ स्थानमा रहेको छ।
यसैगरी, इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन्। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गरेका छन्।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन्।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।