काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराईपक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदहरु आइतबार ललितपुरको गोदाबरी रिसोर्टमा बास बसेका छन्। उनीहरु सबैलाई रिसोर्टमै खाने र बस्ने व्यवस्था मिलाइएको हो।
शीर्ष नेताहरुले ब्रिफिङ गर्ने भन्दै कार्यकारिणी समितिका सदस्य र सांसदहरुलाई आइतबार दिउँसो २ बजे गोदाबरी रिसोर्ट पुर्याइएको थियो। दिउँसोको खाना खाएर ३ बजेदेखि सुरु भएको बैठक राती ९ बजे सकिपछि उतै बास बसेको कार्यकारिणी समितिका एक सदस्यले बताए।
निर्वाचन आयोगले सोमबार विहान ११ बजे जसपाको आधिकारिकता विवाद टुंग्याउनलाई सनाखतका लागि सबै कार्यकारिणी समितिलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ। त्यसको अघिल्लो दिन उनीहरुलाई अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोदाबरी रिसोर्टमा पुर्याएका हुन्।
रिसोर्टमा यादव, भट्टराईसहित ३१ जना कार्यकारिणी सदस्य र २१ जना सांसद रहेको ती सदस्यले बताए। निर्वाचन आयोगले गर्ने सनाखतमा उपेन्द्र–बाबुरामको पक्षमा ३२ जनाले समर्थन जनाउने भएका छन्। रिसोर्टमा भने उनीहरुबाहेक राजकिशोर यादव र गोविन्द चौधरी पनि रहेको ती नेताले दाबी गरे।
‘बैठक दिउँसो ३ बजेदेखि सुरु भएको हो, राती ९ बजे सकियो। राती यतै खान बस्ने व्यवस्था मिलाएको छ। भोलि विहान ८ बजेदेखि ९ बजेसम्म बैठक बस्ने भनिएको छ। त्यो बैठक सकिएपछि खाना खाएर सिधै निर्वाचन आयोग जाने भनिएको छ’, ती कार्यकारिणी सदस्यले भने।
जसपाले अब तय गर्ने रणनीतिबारे आइतबारको बैठकमा अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राईले आफ्ना कुरा राखेका थिए। जसपाको आधिकारिकता आफूले पाउने निश्चितजस्तै भए पनि निर्वाचन आयोगमा उपस्थित हुनुअघि कुनै चलखेल नहोस् भनेर यो पक्षले सबैलाई लिएर रिसोर्टमा जम्मा गरेको बताइन्छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये रेशम चौधरी जेलमा भएकाले उपेन्द्र बाबुरामको पक्षमा ३२ जना पुगेका छन्। उनीहरुको पक्षमा पूर्ण बहुमत भएकाले उनीहरुले नै पार्टीको आधिकारिकता पाउँने निश्चित देखिन्छ। उनीहरुले आधिकारिकता पाए यसअघि नै राष्ट्रिय जनता पार्टी (राजपा) समेत उनीहरु निकटले दर्ता गरिसकेकाले महन्थ ठाकुर र राजेन्द्र महतो दलविहिन हुने भएका छन्। त्यसो हुँदा उनीहरुले अर्को नयाँ पार्टी गठन गर्नुपर्ने छ। यस्तो भएमा अझै कार्यकारिणी सदस्य महन्थपक्षबाट उपेन्द्रपक्षमा जोडिन सक्ने आकलन गरिएको छ। उता पार्टी विभाजन गर्न समेत कार्यकारिणी समिति र संसदीय दलमा ४०÷४० प्रतिशत पु¥याउन नसकेमा पार्टीबाट निष्काशनमा पर्दा सांसदविहीन बन्ने खतरा पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।