तस्वीर : द न्यूयोर्क टाइम्स
काठमाडौं– १२ वर्षीया सिरियन टेबल टेनिस खेलाडी हेन्ड जाजा टोकियो ओलम्पिक २०२० काे पहिलाे खेलबाटै बाहिरिएकी छन्। टेबल टेनिस महिला सिंगलतर्फ शनिबार भएकाे खेलमा सबैभन्दा कान्छी प्रतिस्पर्धी जाजा अस्ट्रियाकी ३९ वर्षिया लिउ जियासँग ४-० काे सिधा सेटमा पराजित हुँदै बाहिरिएकी हुन्।
लिउले उनलाई ४-११, ९-११, ३-११ र ५-१ काे सिधा सेटमा पराजित गरेकी थिइन्।
सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा पाँचमध्ये चार खेलमा जित निकाल्दै जाजा ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। उनकाे उमेर त्यतिखेर ११ वर्ष थियाे।
उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५औं स्थानमा छिन्।
१२ वर्षको उमेर र युद्धग्रस्त सिरियाबाट ओलम्पिकसम्म पुग्नु कुनै सानो उपलब्धि होइन, जहाँ प्रशिक्षणका लागि सुरक्षित ठाउँ खोज्नु चुनौतीपूर्ण थियो।
ओलम्पिकमा उनकाे उपस्थिति अल्पकालीन थियो। लिउसँग पराजित भएपछि उनी आँशु बगाउँदै हलबाट बाहिर निस्किएकी थिइन्।
१० वर्षीय एउटी छोरीकी आमा लिउले खेलपछि भनिन्, 'उनी मसँग प्रतिस्पर्धा गरिरहँदा मातृभाव झल्किएकाे थियाे। यो खेल कम, अधिक मानवीय पक्ष थियो। खेलिरहँदा उनी मभन्दा कम छैनन् है भन्ने याद दिलायाे। तर, उनमा अनुभवकाे कमी देखियाे।'
यता, जाजाले ओलम्पिकसम्म आइपुग्न आफूले धेरै मिहिनेत गरेकाे भन्दै सपनाकाे लागि लड्न नछाड्न सबै खेलाडीलाई आग्रह गरिन्।
'जो समान स्थितिमा आउन चाहनुहुन्छ उनीहरु सबैलाई मेरो सन्देश- तपाईं सपना देख्नुहुन्छ भने लड्न नछाड्नुहाेस्। कठिनाइहरूको बाबजुद कडा मिहिनेत गर्नुहोस् र त्यसपछि आफ्नाे लक्ष्यमा पुग्नुहुन्छ,' उनले भनिन्।
उनले आफूभन्दा धेरै अनुभवी खेलाडीको सामना गर्नुपरेकाेले सहजै पराजित भएकाे पनि बताइन्।
'धेरै अनुभवी प्रतिद्वन्द्वीको विरूद्ध खेल्न एकदम गाह्रो छ। खासगरी पहिलो ओलम्पिक खेलको लागि मानसिक रूपमा तयार हुनु मेराे लागि एकदम गाह्रो थियो,' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।