सैनिक जवान भरत गुरुङको शव फेला परेको स्थान
काठमाडौं– चितवनको भरतपुर–१७ मानसिंह चोकमा मृत फेला परेका सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
टाउकोमा गोली लागेको अवस्थामा मृत फेला परेका सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सैनिक जवान भरत गुरुङको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनकै साथी गंगाधर पौडेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका पौडेल चितवनका बासिन्दा हुन्। उनी गुरुङसँगै महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेका जनाइएको छ।
प्रहरीले उनलाई सर्ट मेसिन गन (एसएमजी) र ८ लाख रुपैयाँसहित पक्राउ गरेको हो।
प्रारम्भिक बयानका क्रममा पौडेलले गुरुङको हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए।
गुरुङले आफ्नो हस्ताक्षर दुरुपयोग गरी ९ लाख रुपैयाँ हिनामिना गरेकाले उनको हत्या गरेको पौडेलले प्रहरीसमक्ष बयान दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।