काठमाडाैं- नेपालमा शल्य चिकित्सासम्बन्धी वेबीनार शृंखला सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संयुक्त राष्ट्रसंघीय प्रशिक्षण तथा अनुसन्धान संस्थान (युनिटार)ले सर्जिकल, ओब्स्टेट्रिक र एनेस्थेसिया योजना (एनएसओएपी) अभिमुखीकरण वेबीनार शृंखला आयोजना गरेका हुन्। निक साइमन्स संस्थान (एनएसआई) को सहयोगमा वेबीनार सम्पन्न गरिएको हो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन, द्विपक्षीय तथा बहुपक्षीय विकास दातृ निकायहरू, परोपकारी संगठन, गैरसरकारी संस्थालगायत विभिन्न संघसंस्थाका १०० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए।
उक्त कार्यक्रमको मुख्य उद्देश्य शल्य चिकित्साको महत्त्वबारे बहस सुरू गर्नु र नेपालमा एनएसओएपी विकास गर्ने प्रक्रिया बुझ्नु रहेको थियो। कार्यक्रममा हार्भार्ड प्रोग्राम इन ग्लोबल सर्जरी एण्ड सोसल चेन्ज (पीजीएसएससी), इन्टर्याक्टिभ रिसर्च एण्ड डेभलपमेण्ट (आईआरडी) ग्लोबल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ तथा विशेषज्ञहरूले प्रस्तुति राखेका थिए।
अन्तर्राष्ट्रिय साझेदारहरू, संयुक्त राष्ट्र संघका सहायक महासचिव निखिल सेठ र युनिटारका सामाजिक समावेशीकरण विभागका निर्देशक अलेक्स मेजियाएम्फेसले समग्र एनएसओएपी विकास र कार्यान्वयन एवं क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।