काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणमा आधारित रेलका योजनालाई बजेट नछुट्याएर अर्थमन्त्रीले देशलाई ऋणको भारबाट बचाएको बताएका छन्।
संसदको बजेट छलफलमा भाग लिँदै सांसद गिरिले प्रधानमन्त्रीले कुनै अध्ययनबिना नै रेलको सपना बाँडेको तर अर्थमन्त्रीले आफूले अनुभव गरेको आधारमा यसलाई रोकेको भन्दै धन्यवाद दिए। उनले अर्थमन्त्री युवराज खतिवडाको प्रशंसासँगै आलोचना पनि गरे।
सांसद विकास कोषको रकममा दिँदा मापदण्ड बनाएकोमा अर्थमन्त्रीको आलोचना गर्दै गिरिले अर्थमन्त्रीलाई एकपटक प्रत्यक्षतर्फ निर्वाचन लड्न सुझाव समेत दिए। उनले सांसदहरुलाई अर्थमन्त्रीले हेपे पनि सांसदले अर्थमन्त्रीलाई हेप्न नसक्ने टिप्पणी गरे।
उनले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न आग्रह गरेका हुन्। उनले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमुखा सांसदको समस्या नबुझेको धारणा राखे।
‘सांसद पनि कस्ता भोका-नांगा भने भूकम्पको ५ सय रुपैयाँ पनि लिएर जाने, सांसद पनि कस्ता भोका नांगा भने कुनै सुविधा पनि नछाड्ने। एक-दुई जना होलान् सुविधा नलिने, सारालाई सुविधा चाहिने’, गिरिले भने, ‘तिनलाई तपाईंले ठीक जवाफ दिनुभएको छ।’
उनले निमुखा सांसदको वकालत गर्दै भने, ‘एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु, अर्थमन्त्रीजीले प्रत्यक्ष चुनाव चाहिँ लड्नैपर्छ। अनि सांसदको कुरा बुझ्नुहुन्छ।’
सांसद गिरिले सांसद जत्तिको अपमानित र निरीह प्राणी नेपालमा अरु कोही नभएकाले उनीहरुले अर्थमन्त्रीलाई ट्र्यापमा पार्न नसक्ने बताए।
उनले अर्थमन्त्री सांसदको ट्र्यापमा परेको नभई आफ्नो आर्थिक अनुशासन र ठूला नेताको पपुलिस्ट कार्यक्रमको ट्र्यापमा परेको दावी गरे।
‘आफूले एमएमा पढेको शिक्षा, पिएचडी गरेको शिक्षा र वर्ल्ड बैंकसँग गरेको संगत एकातिर छ, नेताहरुको दबाव अर्कातिर छ’, गिरिले भने ‘त्यसैले उहाँ आफ्नो अन्तरआत्माको र महाबलि नेताको ट्र्यापमा परेको हो।’
नेताहरुले बिजुलीबाट रेल चलाउने जस्ता सपना देखाए पनि हिसाबकिताब गर्दा र आफ्नो विवेक प्रयोग गर्दा त्यो सम्भव नदेखिएपछि अर्थमन्त्री समस्यामा परेको गिरिले बताए।
उनले अर्थमन्त्रीले बजेट ल्याउँदा केही ठूला नेताबाहेक कसैलाई नटेरेको टिप्पणी गरे।
‘उहाँको विवेकले जे देख्यो, त्यही गर्नुभएको देखिन्छ, अब उहाँको विवेकको परीक्षा हुन्छ’, गिरिले भने ‘उहाँले बलिया-बांगा नेतालाई बाहेक अरुलाई टेर्नुभएको छैन।’
गिरिले कतिपय आत्मनिर्भर हुनुपर्ने अवस्थाका रुग्ण उद्योगलाई नियन्त्रण गर्ने कुरा सकारात्मक भएको भन्दै अर्थमन्त्रीको प्रशंसा समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।