काठमाडौं– दुर्गा थापालाई लाग्थ्यो, ‘ज्यान रहे ऋण तिर्दै जाऔँला।’ कमाइ राम्रै हुन्थ्यो। यहीबीच भूकम्प आयो। महामारी आयो। ज्यान त रह्यो, ऋणले पो छाडेन।
भूकम्पपछि पनि उस्तो दुःख थिएन। ऋण तिर्ने हिम्मत थियो। व्यापार चलेकै थियो। तर, महामारीले खान–लाउनै मुस्किल पारिदियो।
दूर्गा महामारीअघिका दिन सम्झिन्छिन्। श्रीमान्–श्रीमतीको गरेर दैनिक कमाइ नै ५/६ हजार हुन्थ्यो। दुवै जनाका आ-आफ्नै चटपटे बेच्ने ठेला थिए।
अहिले पनि उनी पुरानो ठेला छेउमा छिन्। बेला–बेला दर्किरहने पानीबाट जोगिन ठेलालाई पालले ढाकिएको छ। तर, ग्राहक उस्तो छैनन्। ग्राहक नभएपछि कमाइ पनि छैन।
ठेला ठेल्दै सानेपाबाट निस्किएपछि ग्राहक बोलाउनु पर्दैन थियो। चटपटे र पानीपुरी खानेहरु धमाधम आउन थाल्थे। व्यापार गजबले चलेको थियो। महामारीका कारण सानेपा छाड्न बाध्य हुनपर्यो। कीर्तिपुरको पाङ्गास्थित चारधारामा व्यापार उस्तो छैन। सानेपाका ती दिन अब सपना जस्तो भएका छन्।
चार दशकअघि गोरखाको आरुबारीबाट काठमाडौं झरे यता दुर्गा थापाले यस्तो संकट व्यहोर्नुपरेको थिएन। कोरोना कहरका कारण उनको ऋण बढ्दै गएको छ। बन्दाबन्दी र निषेधाज्ञामा व्यापार ठप्पै भयो। अहिले ठेला सडकमा निकाल्न त पाएकी छन्, तर मान्छेहरु चटपटे खान आनाकानी गर्छन्।
रामबहादुर थापासँग बिहे गरेर काठमाडौं आएपछि उनी एउटा संस्थामा कार्यालय सहयोगी भइन्। उनका श्रीमान् पनि सरकारी कार्यालयमा उही पदमा थिए। दुई जनाको आम्दानीले काठमाडौंमा बच्चाको लालनपालन गर्न र खान धौ–धौ हुन्थ्यो।
परिवार चलाउनै मुस्किल भएपछि दुर्गाले आठ वर्षअघि छँदाखाँदाको जागिर छाडिदिइन्। अनि, सुरु गरिन् चटपटे व्यवसाय। जागिरभन्दा राम्रो कमाइ हुन थाल्यो। त्यसको केही समयपछि श्रीमानले अवकाश पाए। अनि दुवै जनाले दुई वटा ठेलामा चटपटे र पानीपुरी बेच्न थाले।
दुई जनाको कमाइ जागिरबाट आउने तलबभन्दा बढी हुन्थ्यो। यसरी नै कमाएको पैसाले छोरालाई वैदेशिक रोजगारीमा पठाए। छोरीको विवाह गरिदिए। कीर्तिपुरमा जग्गा किनेर टिनको टहरो बनाएका थिए। आफूहरु भने सानेपामा डेरा बसेर त्यतै आसपास व्यापार चलाउँथे।
१२ वैशाख २०७२ को भूकम्पपछि नै उनीहरुलाई संकट निम्तियो। गोरखा आरुबारीको घर भत्कियो। रामबहादुरले जागिरे जीवनको पैसा खन्याएर गाउँमा पक्की घर बनाएका थिए। ऋण पनि लिएका थिए। घर भत्कियो, ऋण भने बाँकी नै रह्यो। अनि, ठेलाको आम्दानी ऋण तिर्दै ठीक हुन थाल्यो।
उनका श्रीमान् मधुमेह र उच्च रक्तचापका बिरामी हुन्। औषधि खर्च, परिवार खर्च, ऋणको किस्ता सबै ठेलाको व्यापारले धानिरहेको थियो। महामारीले व्यापारै बन्द भयो। यो महामारीमा ज्यान रहनु नै पनि ठूलो कुराजस्तो भएको छ। तर, ऋणको चिन्ताले उनलाई राम्रोसँग निन्द्रा लाग्दैन।
व्यापार गर्नै नपाएपछि सानेपाको डेरा भाडा तिर्न मुस्किल भयो। अनि त्यहाँबाट कीर्तिपुरको आफ्नै जग्गामा बनाएको टिनको टहरोमा सरे। भाडा तिर्न ऋण थप्नुपर्यो। कोठा सार्दा पनि ऋण नै लिनुपर्यो।
विदेश गएको छोराको पनि राम्रो कमाइ नभएपछि फर्किएको लामै समय भयो। फेरि राम्रो ठाउँमा जान म्यानपावर कम्पनीलाई पैसा दिएका छन्। तर, कम्पनीले महिनौँदेखि झुलाइरहेको छ। ‘छोरी विदेशमै छिन्। बिहे गरेर अर्काको घर गएकी छोरीसँग पैसा माग्नु पनि भएन,’ दुर्गा भन्छिन्।
उनलाई फाइनान्सको ऋणले खूब पोल्छ। किस्ता तिर्न एक दुई दिन ढिला हुनेबित्तिकै ताकेताको फोन आइहाल्छ। त्यति बेला त निर्जीव मोबाइलसँग पनि पो रिस उठ्ने रहेछ! तर, उनी नम्र भएर आफ्नो परिस्थिति सुनाउँछिन्।
ऋणले पोलेकै कारण निषेधाज्ञा खुकुलो हुने बित्तिकै उनले ठेला निकाल्न थालिन्। श्रीमानले भने अझै व्यापार सुरु गरेका छैनन्। ‘फाइनान्सको किस्ता तिनैकै लागि पनि मैले ठेला निकालेकी हुँ। रोगभन्दा भोक र ऋणको पिर ठूलो छ,’ उनी भन्छिन्।
उनका लागि गाउँ फर्किने बाटो पनि छैन। भएको एउटा घर ढलिसकेको छ। खेती गर्न जग्गा जमिन छैन। उनको पीडा नाप्ने कुनै मेसिन त छैन, तर कुरा गर्दै जाँदा आँखा बग्न थालिसक्छन्। ‘परिवारमा कसैको कमाइ छैन। सहरमा सबै थोक किनेर नै खानुपर्छ। यस्तो समय त यसअघि कहिल्यै भोगिएको थिएन,’ उनी भन्छिन्।
कोरोनाको पहिलो लहरमा उनको परिवारलाई सरकारले पाँच केजी चामल राहत दिएको थियो। दोस्रो लहरमा त्यही पनि पाइनन्। व्यापार पनि कीर्तिपुरमा भन्दा सानेपामा नै राम्रो थियो, विद्यालय र कलेजको छेउ। चटपटे र पानीपुरी खाने किशोर–किशोरीले नै हो।
उनले हिम्मत भने हारेकी छैनन्। ‘एक दिन त यो महामारी जाला नि! अनि फेरि मान्छेहरु चटपटे र पानीपुरी खान आइहाल्छन् नि। त्यसपछि ऋण पनि तिरौँला, घर पनि बनाउँला,’ उनले आशावादी हुँदै सुनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।