काठमाडाै– १२ वर्षीया सिरियन टेबलटेनिस खेलाडी हेन्ड जाजाले टोकियो ओलम्पिक २०२० की सबैभन्दा कान्छी प्रतिस्पर्धीका रुपमा सहभागिता जनाउँदै छिन्।
जाजा ५२ वर्षपछि ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन्। उनले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन्।
सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा पाँचमध्ये चार खेलमा जित निकाल्दै उनी ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। उनकाे उमेर त्यतिखेर ११ वर्ष थियाे।
उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५ औं स्थानमा छिन्। यसअघि १९६८ को विन्टर ओलम्पिकमा ११ वर्षको उमेरमा बिएट्रिस हुस्तिउले स्केटिङमा प्रतिस्पर्धा गरेकी थिइन्।
ओलम्पिकमा सबैभन्दा युवा खेलाडीका रुपमा ग्रीक खेलाडी डिमिट्रिओस लउन्ड्रु रहेका छन्। १८९६ मा उनले १० वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाएका थिए। उनले कास्य पदक जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।