काठमाडौं– पुष्पलाल श्रेष्ठको मृत्यु भएको ठ्याक्कै ४३ वर्ष भयो। मृत्युको चार दशकसम्म नेपालका कम्युनिष्टहरुले उनको विस्तृत जीवनी खोजी गरेनन्। फाट्टफुट्ट सानो ‘भोल्युम’का पुस्तक लेखिए। कतिपय पुष्पलालको आलोचनाका लागि लेखियो। कतिपय अनावश्यक प्रशंसाका लागि।
पुष्पलालको ४३औँ स्मृति दिवस (७ साउन) पारेर उनको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ विमोचन भएको छ। विमोचन कार्यक्रम भने सुखद रहेन। पुस्तक लेखनकै क्रममा यसका सह-लेखक माधव पन्थीको निधन भयो।
विमोचन कार्यक्रममा मौनधारण नै दुई पटक भयो। पहिलो पटक शहीदहरुका नाममा। दोस्रो पटक सह–लेखक पन्थी र पुष्पलाल प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानीको नाममा। दुवै जनाको कोराना संक्रमणबाटै निधन भएको हो।
पुष्पलालको जीवनी लेख्नका लागि करिब दुई वर्षअघि पुष्पलाल स्मृति प्रतिष्ठानले समिति बनाएको थियो। समिति संयोजक वेदुराम भुसाल र सदस्य पन्थी र ढाकाराम सापकोटा थिए।
पुष्पलालको जीवन नेपालमा मात्र सीमित थिएन। उनको अधिकांश समय भारतमा बित्यो। उनीसँग जोडिएका महत्वपूर्ण राजनीतिक घटना भारतमै भए।
पुष्पलालको जीवन नेपालमा मात्र सीमित थिएन। उनको अधिकांश समय भारतमा बित्यो। उनीसँग जोडिएका महत्त्वपूर्ण राजनीतिक घटना भारतमै भए। जस्तो, नेपाली राष्ट्रिय कांग्रेसको गठन हुँदा उनी पनि आबद्ध थिए। राष्ट्रिय कांग्रेसको डिल्लीरमण गुटको कार्यालय सचिवको जिम्मेवारी उनैले निभाए। भारतमै रहँदा भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क भयो। कार्ल मार्क्सको ‘कम्युनिष्ट घोषणापत्र’लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरे। अनि नेपाली राष्ट्रिय कांग्रेस परित्याग गरेर भारतीय भूमीमा नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। नेपालमा राणाहरुको शासन भएकाले यी सबै गतिविधि देशभित्रै गर्न सम्भव थिएन।
२००७ सालदेखि पञ्चायतको सुरुसम्म नेपालमै बसेर राजनीतिमा सक्रिय भए। राजा महेन्द्रले १ पुस २०१७ सालमा ‘कू’ गरेसँगै उनको खोजी सुरु भयो। अनि फेरि निर्वासनमा भारत पुगे। लामो समय भारतमै बसेर कम्युनिष्ट आन्दोलन हाँके। तर, यो अवधिमा कम्युनिष्ट पार्टीहरु एकजुट हुन सकेनन्। अनेक समूहमा विभाजित भए। उनी पनि कम्युनिष्ट पार्टीको एउटा समूह खोलेर सक्रिय भइरहे। पार्टीमा आएको विभाजन र टुटफुटलाई रोक्न सकेनन्। किन पार्टी छिन्नभिन्न भयो र पुष्पलाल यी विभाजनलाई रोक्न किन असफल भए भन्ने इतिहास पनि पुस्तकमा समेटिएको छ।
पुष्पलालको निधन ७ साउन २०३५ सालमा भारतमै भयो। उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन अनुमति दिएन। पछि अस्तुसमेत ल्याउन रोक्ने प्रयास भएको थियो। तर, पार्टी कार्यकर्ता रहेका रामचन्द्र चापागाईं र आरबी भण्डारीले प्रहरी तथा तत्कालीन शाही नेपाली सेनालाई झुक्याएर नेपाल ल्याइछाडे। अस्तु आउन नदिन सेनाले १६ साउनमा दिल्लीबाट आउने हरेक जहाज घेराउ गरेर चेकजाँच गरेको थियो। तर, भारतबाट सडकमार्ग हुँदै सिमरा ल्याएर त्यहाँबाट मात्र अस्तु जहाजमा काठमाडौं ल्याइएको थियो।
उनको जीवनका यी सबै घटनाहरु खोज्न भारतसम्म पुग्ने योजनामा समिति सदस्यहरु थिए। पञ्चायतकालमा उनीसँग निकट भएर काम गरेका वेदुराम भुषाल आफैंलाई पनि पुष्पलालको भारतस्थित बासस्थान र भारतीय समकक्षी तथा सहयोगीबारे जानकारी थियो। तर, कोरोना महामारीका कारण उनीहरु भारत जान सकेनन्। त्यसैले माधव पन्थीले सन् २००३ मा भारतीय मार्क्सवादी लेखक तथा पत्रकार आनन्दस्वरुप बर्मा र नेता हरकिसनसिंह सुरजितसँग लिएको अन्तरवार्ता र विभिन्न दस्तावेजलाई सन्दर्भको रुपमा प्रयोग गरिएको छ।
पुष्पलालको जीवनी लेख्न २४८ वटा सन्दर्भ सामग्री प्रयोग गरिएको छ। २५ जनासँग अन्तरवार्ता लिइएको छ। ८ चैत २०७७ मा छोरा उमेशलाल श्रेष्ठसँग लिएको अन्तरवार्ता नै पन्थीका लागि अन्तिम बन्यो। उक्त अन्तरवार्ता तीनै जना लेखकको उपस्थितिमा भएको थियो।
पन्थीले भारतको कुमाउँ विश्वविद्यालयबाट नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानकै विषयमा विद्यावारिधी गरेका थिए। वेदुरामले जनताको बहुदलीय जनवादको विषयमा र सापकोटाले नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीको भूमिकाबारे विद्यावारिधी गरेका छन्।
तीन जना विद्वान लेखकले पहिला सामग्री जुटाए। अनि लेख्न थाले। लेखनी अन्तिम–अन्तिममा पुगेपछि पन्थी कोरोना संक्रमित भए। गएको ९ जेठमा चितवन मेडिकल कलेज, भरतपुरमा उनको निधन भयो। उनले पुस्तकको आवरणसमेत देख्न पाएनन्।
पुष्पलालको जीवनी लेखनमा उनैका पुस्तक सबैभन्दा महत्त्वपूर्ण सन्दर्भ सामग्री भएको भुसाल बताउँछन्। पुष्पलाल आफैं पनि लेखक थिए। उनले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिपत इतिहास’ नामको पुस्तक लेखेका छन्। पार्टी विवादका बेला तुलसीलाल अमात्यले ‘कुन बाटो?’ नामको दस्तावेज लेखेपछि लेख्दा पुष्पलालले ‘हाम्रो मूल बाटो’ लेखेर जवाफ दिएका थिए। पार्टीका दस्तावेजहरु पुष्पलाल आफैं लेख्थे।
पुष्पलालको जीवनी लेखिँदै नलेखिएको भने होइन। २० वर्षअघि दधिराम सापकोटाले ‘कमरेड पुष्पलालको जीवन’ पुस्तिका लेखेका थिए। यसलाई पुष्पलाल स्मृति प्रतिष्ठानको गण्डकी शाखाले प्रकाशन गरेको थियो। यो पुस्तकलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरिएको छैन। तर, गोविन्द ज्ञवालीले लेखेको ‘समकालीन इतिहासमा क. पुष्पलाल’ र नेत्रप्रसाद पन्थीले लेखेको ‘जीवनी, कृतित्व र शिक्षा’ पुस्तकलाई भने सन्दर्भका रुपमा प्रयोग गरिएको छ।
पुष्पलाल आफ्नो जीवनकालमै विभिन्न विवादमा फसे। २००८ सालमा उनलाई कम्युनिष्ट पार्टीको महासचिवबाट हटाइयो। पुष्पलाल गणतन्त्र पक्षधर थिए। तर, उनलाई हटाएर राजाप्रति नरम मानिने मनमोहन अधिकारी महासचिव भए।
२०१६ सालपछि चुलिएका पार्टी विवाद र विभाजनमा पनि उनी संलग्न भए। मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तिका नै प्रकाशन गराए। उनको जीवनजस्तै पुस्तक पनि विवादमा त पर्दैन? लेखन समितिका संयोजक भुसाल भन्छन्, ‘हामीले स्रोतहरुले भनेअनुसारका जानकारी पुस्तकमा राखेका छौँ। कुनै विवाद होला भन्ने लाग्दैन। विवाद गर्नुपरे पुस्तकका विषयमा होइन यसका स्रोतसँग विवाद होला।’
जीवनी लेखनका लागि स्रोत सामग्री जुटाउने खर्च प्रतिष्ठानले नै व्यहोरेको छ। ‘कति बजेटमा काम गर्नुभयो?’ भन्ने प्रश्नमा संयोजक भुसाल लामो हाँसो हाँसे। अनि बोले, ‘हामीले पुष्पलालको सम्मानमा स्वयंसेवा गरेका हौँ। पत्रपत्रिका, पुस्तक र आवश्यक सामग्री मात्र प्रतिष्ठानले किनेको छ। ती सामग्री पनि पुस्तक लेखनपछि हामीले प्रतिष्ठानमा नै बुझाएका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।