फाइल तस्वीर
काठमाडौं– वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा फोहर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सीमा बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण गरिरहेको छ।
अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ। अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने बताइएको छ। हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिटरी ल्याण्डफिल साइट सिसडोलबाट बन्चरेडाँडामा जानका लागि बाटोको समस्या हुँदा तत्काल उक्त स्थानमा फोहर राख्न नसकिने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ।
विभागका उपमहानिर्देशक कुमार घिमिरेका अनुसार उपत्यकाबाट फोहर बोकेर गाडीले सिसडोल पार नगरी दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म पुग्नका लागि वैकल्पिक बाटो छैन। अहिले सिसडोलमा अत्यधिक फोहरको थुप्रो छ, उक्त थुप्रो लोड भएको गाडीले पार गर्दा जतिबेला पनि पहिरो जाने वा भासिने डरका कारण तत्कालै बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न कठिन भएको हो।
अन्यत्र बाटो खोज्ने र तत्काल दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थलसम्म कसरी जान सकिन्छ भनी सम्बद्ध निकायसँग छलफल भइरहेको पनि विभागले बताएको छ। सिसडोलदेखि दीर्घकालीन फोहर निर्माणाधीन व्यवस्थापनस्थलसम्म जाने करिब दुई किलोमिटर सडक भने यसअघिनै निर्माण भइसकेको छ।
बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो।
उपत्यकाको फोहर व्यवस्थापन भइसक्यो: कामपा
काठमाडौँ महानगरपालिकाले विगत एक हप्तादेखि उठ्न नसकेको काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर व्यवस्थापन भइसकेको जनाएको छ। अनामनगर, बानेश्वर, कालीमाटी, रविभवन र असनलगायत स्थानमा फोहर नउठेको गुनासो बढिरहँदा बुधबार साँझसम्ममा सबै स्थानको फोहर व्यवस्थापन भइसकेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।
उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामपाबाट करिब ६ सय मेट्रिक टन फोहर निस्कने गरेको छ। दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
सामान्यतया प्रत्येक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २ सय गाडी फोहर विसर्जनका लागि सिसडोल लगिने भए पनि अहिले वर्षाको समय भएकाले दैनिक सय मात्र फोहरका गाडी विसर्जनस्थलमा पुग्ने गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।