Photograph: Jason O’Brien/AAP काठमाडाैं- विश्व खेलकुदको महाकुम्भ ग्रीष्मकालीन ओलम्पिकको ३५औं संस्करण अस्ट्रेलियाको ब्रिसबेनमा आयाेजना हुने भएकाे छ।
जापानकाे टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो।
याेसँगै अस्ट्रेलिया तेस्राेपटक ओलम्पकि आयाेजना गर्ने राष्ट्र बन्ने पक्का भएकाे छ। यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक आयोजना भएको थियो।
यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।
‘यो अष्ट्रेलियाको लागि गर्वको कुरा हो। ब्रिसबेन ओलम्पिक आयोजना गर्न साँच्चिकै प्रतिबद्ध छ। म अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)का सदस्य राष्ट्रहरूलाई विश्वास गरिदिनुभएको धन्यवाद दिन्छु,’ अष्ट्रेलिया ओलम्पिक समितिका अध्यक्ष तथा आइओसीका उपाध्यक्ष जोन कोट्सले भने।
आइओसीका अनुसार त्यसअघि २०२४ मा फ्रान्सको पेरिस र २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ।
कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एकवर्ष ढिलो गरी भाेलि बिहीबारदेखि सुरु हुँदैछ।
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दै छन्।
पौडीका गौरिका र एलेक्जेन्डर अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। उनीहरु दुवैले १०० मिटर ‘फ्रि स्टाइल’मा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेकी एथलेटिक्सकी सरस्वती भने नेपाल ओलम्पिक संघ (एनओसी) को ‘कृपा’बाट सहभागी भएकी हुन् ।
एनओसीले एथलेटिक्सका गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटेर सरस्वतीलाई पठाएको हो। उनले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्।
कल्पना र सोनियाले भने ‘वाइल्ड कार्ड’ पाएका हुन्। कल्पनाले महिला १० मिटर एयर राइफल र सोनियाले जुडोको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।
टोकियो ओलम्पिकका लागि एनओसीले १२ खेलाडीको नाम ‘वाइल्ड कार्ड’ को लागि सिफारिस गरेकाे थियाे। त्यसमध्ये दुई खेलाडीले मात्र यसपटक अवसर पाएका हुन्।
नेपालले सन् १९६४ मा जापानमै भएको ओलम्पिकमा डेब्यु गरेको थियाे। नेपालले अहिलेसम्म १३ संस्करणमा सहभागिता जनाइसकेको छ। अब हुने ओलम्पिकसहित १४औं सहभागिता हुनेछ।
अहिलेसम्म नेपालबाट करिब एक सय खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।