काठमाडौं- नेपाली कांग्रेसका सांसदहरुले अर्थतन्त्रलाई बजेट मार्फत राज्य नियन्त्रित बनाउन खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको धारणा राख्ने क्रममा कांग्रेसका सांसद प्रकाशमान सिंहले राज्य नियन्त्रित अर्थतन्त्रको झलक दिने बजेट ल्याइएको आरोप लगाए। शक्तिशाली सरकारले ल्याएको बजेट मार्फत आम सर्वसाधारणले निराशाको पोको मात्रै पाएको उनले बताए। सांसद सिंहले २०१५ सालमा कांग्रेसको सरकारका अर्थमन्त्री सुर्वण शम्शेरले ल्याएको 8वादको बजेटकै मोडलमा वर्तमान सरकारको बजेट आएको बताए।
'जनता, व्यवसायी तथा उद्योगीहरु सबैतिरबाट बजेटको आलोचना भइरहेको छ', उनले भने, 'बलियो सरकारले प्रस्तुत गर्नेबित्तिकै राम्रो भन्नुपर्ने छ र?'
प्रधानमन्त्री मातहत विभिन्न निकाय ल्याएर जनवादी केन्द्रीयताको अभ्यास गरिएको बताउँदै सिंहले त्यसकै अभ्यासका रुपमा बजेट आएको आशंका गरे। घरजग्गा किनबेच कम्पनी मार्फत हुनुपर्ने व्यवस्थाको विरोध गरेका उनले सांसदलाई विकास-निर्माणका कामबाट टाढा राख्न खोजिएको भन्दै असन्तुष्ट व्यक्त गरे।
कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारले बजेट बनाउने क्रममा प्रतिपक्षको सल्लाह नलिएको भन्दै संसदीय व्यवस्थामा प्रतिपक्ष दलको मर्यादा ख्याल नगरिएको टिप्पणी गरिन्। स्थानीय तहमा बजेट विनियोजन गर्दा पक्षपात गरिएको भन्दै उनले कांग्रेसले जितेका स्थानमा कम रकम विनियोजन भएको आरोप लगाइन्। कांग्रेसका दिवंगत नेताहरुको नाममा कुनै पनि शीर्षकमा बजेट विनियोजन नहुनु दुःखद पक्ष भएको उनको टिप्पणी छ।
अर्का नेता नारायण खड्काले विगतको बजेट कार्यान्वयनका क्रममा भएका कमजोरी खोज्ने प्रयास अहिलेको बजेटमा पनि नभएको बताए। सांसदहरुलाई वितरण गरिएको चार करोडबारे संघीय संसदले अनुगमन गर्नुपर्ने सुझाव उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।