काठमाडाैं- इङ्लिस प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ परेका छन् । ती खेलाडीलाई गएको शुक्रबार ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो।
कानूनी कारणले ३१ वर्षीय खेलाडीको नाम सार्वजनिक गरिएको छैन। ती खेलाडी पक्राउ गरेपछि धरौटीमा रिहा गरिएकाे छ। यद्यपि, अनुसन्धान भने जारी रहेको प्रहरीले जानकारी दिएकाे छ।
ग्रेटर म्यान्चेस्टर प्रहरीले एक विज्ञप्तिमा भनेकाे छ, 'बालयौन दुराचारको आशंकामा अधिकारीहरूले एक खेलाडीलाई १६ जुलाईमा पक्राउ गरिएकाे छ। उनी सोधपुछको लागि जमानतमा छन्।'
ती खेलाडीलाई क्लबले निलम्बन गरेकाे पनि जनाइएकाे छ। यता, एभर्टन फुटबल क्लबले सोमबार रात एक विज्ञप्ति जारी गर्दै आफ्ना एक खेलाडी पक्राउ परेकाे जानकारी दिएकाे थियाे। तर, क्लबले बालयौन दुराचारकाे आशंकामा पक्राउ गरिएको खेलाडी आफ्नाे हाे कि हाेइन भनेर खुलाएकाे छैन।
यद्यपि, क्लबले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'प्रहरी अनुसन्धानमा बाँकी रहेका कारण टोलीका एक खेलाडीलाई निलम्बन गरिएकाे छ। क्लबले उनीमाथि सोधपुछ गर्न स्वीकृति दिनेछ। तर, यस समयमा कुनै जानकारी दिन हामी असमर्थ छाैं।'
यता,महाधिवक्ता (ऐडवोकेट जनरल) माइकल एलिस क्यूसीले जनता र फुटबल समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन्।
'दोषी साबित नभएसम्म सबै निर्दोष हुन्छन्, र सबैजना निष्पक्ष मुद्दाको हकदार हुन्छन्,' उनले भनेका छन्, 'एउटा गलत ट्वीट वा पोष्टका कारण गम्भीर परिणाम उत्पन्न हुनसक्छ र अनुसन्धानमाथि हस्तक्षेप हुनसक्छ। त्यसैले म सबैलाई सावधान गराउँछु, न्यायको बाटोमा अवराेध नगर्नुहाेला।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।