काठमाडौं- भारतीय सुरक्षाकर्मीको नियन्णत्रणमा रहेका देवनारायण यादवको रिहाईका लागि गृहमन्त्रालयले पहल थालेको छ। गृहमन्त्री जनार्दन शर्माले घटनाका विषयमा यथार्थ बुझेर तत्काल रिहाईको पहलका लागि निर्देशन दिएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत मन्त्री शर्मासँग घटनाको विषयमा जानकारी लिएका छन्। अध्यक्ष दाहालका स्वकीय सचिव प्रकाश दाहालले मन्त्री शर्माले केन्द्रबाटै यादवको रिहाईका लागि पहल भइरहेको जानकारी अध्यक्षलाई दिएको सामाजिक सञ्जाल मार्फत जनाएका हुन्।
गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सप्तरीका प्रजिअ मार्फत भारतीय समकक्षीसँग कुराकानी भइरहेको जनाएका छन्। उनले घटना भारतीय भूमिमा भएकाले केही बुझेर गृहले काम थाल्ने बताए। प्रवक्ता सुवेदीले भने, 'आफ्नो देशको नागरिक छुटाउन राज्यले हरसम्भव प्रयास गर्छ, हामी हिजोदेखि नै सक्रिय भएर लागेका छौं।'
सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई आइतबार भारतीय प्रहरीले पक्राउ गरेको हो।
शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका उनका छोरासहित केही युवालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि यादव आइतबार उनीहरुको रिहाइका लागि भारतीय चौकी पुगेका थिए।
सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार आइतबार छोराको रिहाइका लागि सीमापार गएका यादवलाई उताको प्रहरीले नियन्त्रणमा लिएको थियो।
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा यादव उत्रिएका थिए।
उनी केही महिनाअघि नेपाली भूमिरक्षाका लागि भारतीयसँग लड्दा सख्त घाइते भएका थिए। यादव सप्तरी तिलाठीका बासिन्दा हुन्। भारतीय सीमा सुरक्षा बलसँग नेपाली भूभागका लागि निरन्तर लड्दै आएका यादव भारतीय पक्षको निशानामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।