काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेसको विगतको सरकारले अवलम्बन गरेको उदार अर्थनीतिको जगमा बजेट आएको बताएका छन्।
संसद्मा बजेटमाथिको अन्तिम दिनको छलफलमा बोल्दै गच्छदारले कार्यान्वयनको पक्ष महत्वपूर्ण हुने भन्दै ८ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको टिप्पणी गरे। कर वृद्धिले मूल्यवृद्धि स्वत हुने भएकाले लगानी आकर्षित नहुने उनको भनाइ थियो। आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन र विद्युत्का क्षेत्रमा जोड दिन सुझाव दिए।
नेता गच्छदारले विगतमा लक्ष्य अनुसार पर्यटक भित्र्याउन नसकिएको जनाउँदै २०२० मा राखेको लक्ष्य पूरा हुनेमा पनि शंका गरे। २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारले ल्याएको बजेटको प्रशंसा गर्दै उनले विगतकै जगमा अहिलेको बजेट आएको प्रस्ट्याए।
२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको सरकारले ल्याएको उदारवादको नीतिले आर्थिक पूर्वाधारको जग निर्माण भएको दाबी गरे। सोही समयमा ल्याएको पूर्वाधारको विकासका कारण मुलुकले हालको आर्थिक वृद्धिदर प्राप्त गर्न सकेको बताए।
कांग्रेस सरकारको समयमा ल्याइएको नीतिकै कारण दूरसञ्चार, सञ्चार माध्यम लगायत क्षेत्रले फड्को मार्न सकेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।