काठमाडौं- यस वर्षको मनसुनबाट हालसम्म ६३ जनाको मृत्यु भएको छ भने ३५ जना अझै बेपत्ता रहेका छन्। ६३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएका छन्।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले ५ सय ६५ निजी आवास पूर्ण रुपमा क्षति भएको, १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति भएको पनि बताए।
त्यसैगरी, निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झोलुङ्गे पुलमा क्षति भएको पनि उनले बताए।
गत वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ रकम अवास निर्माण, पुनर्निमाण, पुनर्स्थापना र प्रवलीकरणका लागि निकासा गरिएको प्रवक्ता अर्यालले बताए।
यस आर्थिक वर्षमा भने विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्कालै अस्थायी आवास निर्माणका लागि सम्बन्धित जिल्ला विपत व्यवस्थापन समितिको कोषमा रकम निकासा गरिसकिएको उनले बताए।
उनले प्राधिकरणले हाल मनसुनबाट भएको क्षतिको विवरण देशभरबाट संकलन गरिरहेको पनि बताए। विपद परेका जिल्लाहरु सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथरमा टेण्ट, त्रिपाल, कम्बल, स्लिपिङ ब्याग र माग भए अनुसारका सामग्रीहरु पठाइएको पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।