काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डाक्टर रोशन पोखरेल बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि सोमबार नै बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।
बढुवा समितिको निर्णयानुसार १ नम्बरमा सिफारिस भएका पोखरेललाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै झण्डै ४ वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त हुने भएका छन्।
स्वास्थ्य मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ। त्यसयता स्वास्थ्यमा प्रशासनतर्फ सेवाका ७ जना सचिव भइसकेका छन्। सातौं सचिवका रुपमा लक्ष्मण अर्याल छन्। २०७६ पुस २१ गते स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ।
सरकारले स्वास्थ्य सचिव रहेकी डा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा सचिवको विवाद सुरु भएको थियो।
स्वास्थ्य सेवाकी सचिव डाक्टर पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत समेत पुगेकी थिइन्। अदालतले आदेशपछि उनी पुनः स्वास्थ्य मन्त्रालय पनि आइन्।
सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। अदालतले डा पुष्पालाई स्वास्थ्यबाट सरुवा नगर्न सरकारलाई आदेश दिएपछि पुष्पा पनि मन्त्रालयमा पुगिन्।
जसका कारण डा पुष्पा र अधिकारीबीच सचिवको कुर्सीमा बस्न प्रतिस्पर्धा नै चल्यो। सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन सेवा गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।