काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको विषयमा सरकारी टोली र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको सरकारी टोली र आन्दोलनरत पक्षबीच सोमबार वार्ता भइरहेको छ।
सरकारी छानबिन टोली आन्दोलनरत पक्षसँग वार्ताका लागि प्रतिष्ठानमै पुगेका छन्। वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याल, हरि लम्साल, डा गुणराज लोहनी लगायतका ९ जना रहेका छन् भने आन्दोलनरत पक्षको तर्फबाट डा एसपी रिमाल, डा विष्णु पोखरेल, डा सन्दीप साह लगायत १५ जना प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी छन्।
बीपी प्रतिष्ठानमा प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै त्यसको छानविन तथा प्रतिष्ठानका विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीरु आन्दोलित छन्।
प्रतिष्ठान शुद्धीकरणको अभियानसहित असार १ अघिदेखि उनीहरूको आन्दोलन जारी छ। प्रतिष्ठानमा लामो समयसम्म आन्दोलन भएपछि सरकारले केही दिन अघिमात्र आन्दोलनको विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।