काठमाडौं- नेपालमा पनि क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्रभाइभेट कम्पनीले नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु गरेको हो।
एन्टी क्यान्सर औषधि उत्पादन गरेको विषयमा जानकारी दिन कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा कम्पनीले आफ्ना उत्पादनसमेत सार्वजनिक गरेको हाे।
कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने यो कम्पनी नेपालकै पहिलो भएको जानकारी दिए। 'हामीले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर नै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार औषधि उत्पादन गरेका हौं,' उनले भने, 'हाम्र उत्पादन अबको एक महिनाभित्र बजारमा जानेछन्।'
काभ्रेको नालामा रहेको यो कम्पनीमा शत प्रतिशत विदेशी लगानी रहेको बताइएको छ। कम्पनीले हालसम्म ३२ करोड रुपैयाँ लगानी गरेको छ। नेपालमा उत्पादन भएका औषधिको मूल्य विदेशबाट आयात भएका औषधि भन्दा सस्तो भएको जानकारी कम्पनीले दिएको छ।
टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।