काठमाडाैं- आगामी २३ जुलाईदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला सहभागी नहुने भएका छन्।
एथलेटिक्सका गोपीचन्द्र पार्की प्रकरण र ओलम्पिकमा सहभागी हुने पदाधिकारीलगायतको विषयमा असन्तुष्टि जनाउँदै आएका कोइरालाले प्रेस विज्ञप्ती निकाल्दै अन्तिम समयमा आफू टाेकियाे नजाने जानकारी दिएका हुन्।
टोकियो ओलम्पिकमा भाग लिन शुक्रबार मात्रै सेभ द मिसनमा समेत रहेका सदस्य सचिव रमेश सिलवाल नेतृत्वको १० सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरिसकेकाे छ।
यता, उपाध्यक्ष कोइरालासहित नेपाल ओलम्पिक कमिटि (एनओसी)का उपमहासचिव पिताम्बर तिम्सिना र एथलेटिक्सको टोली २४ जुलाईमा टोकियो उड्ने कार्यक्रम रहेको छ।
तर, कोइरालाले व्यक्तिगत कारणले आफू सहभागी हुन नसक्ने उल्लेख बताएका छन्। ‘मलाई यस अवसरमा समेट्नु भएकोमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र विभिन्न व्यक्तिगत कारणले गर्दा म आफै यस यात्रामा सहभागी हुननसक्ने व्यहोरासमेत जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएकाे छ।
काेइरालले कुनै बैठक र छलफलबाट आफ्नो नाम सिफारिस नभएको दावी गरेका छन्। एनओसीले कोइराला र राखेपका पूर्वउपाध्यक्ष समेत रहेको एनओसीका उपमहासचिव तिम्सिनालाई एथलेटिक्सको व्यस्थापक बनाएको जानकारी दिएको थियो।
२३ जुलाईदेखि २८ अगस्टसम्म आयाेजना हुने टोकियो ओलम्पिकमा ५ खेलाडी, ४ प्रशिक्षकसहित २५ सदस्यीय टोली सहभागी हुनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।