फाइल तस्वीर : नेप्लेज काठमाडौं- आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ अर्थात् भदौ १३ देखि २० गतेसम्म आयोजना हुने २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता नजनाउने भएको छ।
एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले कोरोना महामारीको कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई फिलिपिन्समा आयोजना हुने भनिएको प्रतियोगितामा सहभागिता नगराउने निर्णय गरेको हो।
एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै ८ टोलीको मात्र सहभागिता रहने जानकारी दिएको छ।
सार्वजनिक खेल तालिकाको समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन्। समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन्।
तर, एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपालसहित भारत, हङकङ र जापानको नाम रहेको छैन। कोरोना महामारीको कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको नेपाल भलिबल संघले जनाएको छ।
‘भारतबाट फैलिएको कोरोनाको डेल्टा भेरियन्टको प्रभाव नेपालमा पनि रहेको छ। सोही कारण हामीलाई सहभागिता नगराउने निर्णय गरेको खबर आएको छ,’ संघका सचिव मनबिर छन्त्यालले नेपाल लाइभसँग भने।
यसअघि चीनमा आयोजना हुने पक्का भएको प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो। तर, कोरोना महामारीपछि चीनले आयोजकबाट नाम फिर्ता लिएपछि फिलिपिन्सले आयोजनाको जिम्मेवारी पाएको हो।
कोरोना महामारीलाई देखाउँदै चीनसहित इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्याण्डले नाम फिर्ता लिएपछि प्रतियाेगितमा फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङले भाग लिने पक्का भएकाे थियाे।
त्यही अनुसार नेपाली महिला टिमले असार १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बन्द प्रशिक्षणसमेत शुरु गरेको थियो। अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो।
केही साता प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुने तयारी थियो। तर, टोलीले झन्डै एक महिना प्रशिक्षण गरेपछि सहभागिता नहुने भएको हाे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।