



क्याम्प नोउ– बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले ९९ हजार दर्शक क्षमताको आफ्नो घरेलु मैदानमा लास पाल्मासविरुद्ध २ महत्वपूर्ण गोल गर्दा पहिलो पल्ट रंगशाला पुरै खाली थियो।
स्पेनबाट छुट्टिन पाउनु पर्ने मागसहित क्याटालोनिया शहर बार्सिलोनामा आइतबार राती जनमत संग्रह हुँदा दंगा भडकिएपछि खाली रंगशालामा खेल भएको थियो। जसमा मेसीले ७० र ७७ मिनेटमा गोल गरे। अर्को एक गोल ४९ मिनेटमा बस्क्युट्सले गरे।
खेल हेर्न रंगशाला पुगेका हजारौं दर्शकलाई बार्सिलोना शहरमा दंगा भडकिएपछि खेल सुरु हुनुभन्दा २५ मिनेट अगाडि दर्शकदीर्घामा जान रोक लगाइएको थियो।
उत्तरपूर्वी स्पेनमा ७५ लाख क्याटालोनियावासी बसोबास गर्ने गरेका छन्। उनीहरुको आफ्नै भाषा र संस्कृति छ। उनीहरुले स्पेनबाट छुट्टिन पाउनु पर्ने भन्दै धेरै अगाडिदेखि आन्दोलन गरिरहेका छन्।
आइतबार जनमत संग्रहबाट छुट्टिने घोषणा गरे पनि स्पेनको अदालतले यसलाई अवैध घोषणा गरेको छ। स्पेनिस सरकारको हस्तक्षेपपछि प्रहरीले मतदान प्रक्रियामा हस्तक्षेप गरेको थियो। जसका कारण हिंसा भडकिन पुग्यो।
पाल्मसलाई ३–० ले पराजित गरेपछि बार्सिलोना ७ खेलमा शतप्रतिशत नतिजा निकाल्दै २१ अंकका साथ शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।