काठमाडौं- स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्यान्डले आगामी विदेश यात्रा अमेरिकाको गर्ने भएको छ। दक्षिणवर्ती राज्य टेक्सासको डालास सहरबाट सुरु हुने यसपटकको सांगीतिक यात्रा उत्तरपूर्वी कुना बोस्टनमा पुगेर सम्पन्न हुनेछ। अमेरिकाका यी दुवै सहरमा नेपथ्य पहिलोपटक गुन्जिन लागेको हो।
यात्राको पहिलो प्रस्तुति जुन ९ तारिखमा डालासस्थित ‘द बम फ्याक्ट्री’ कन्सर्ट हलमा हुनेछ। ‘नेपथ्यलाई डालासमा प्रस्तुत गर्न पाउँदा असाध्यै खुसी लागेको छ,’ आयोजक समूहका तर्फबाट डिजे मोमोले भने, ‘यो ब्यान्ड तीन वर्षअघि न्यूयोर्कमा कन्सर्टका निम्ति आएका बेलादेखि हाम्रो सहरमा पनि निम्त्याउने प्रयास गर्दै आएका थियौं।’
डालासमा बस्दै आएको नेपाली समुदायकै निम्ति यो खुसीको क्षण हुने उनी बताउँछन्। त्यहाँस्थित समूह ‘डिटी’ र ‘मोमो इन्टरटेनमेन्ट’ले नेपथ्य यात्राको व्यवस्थापन गर्दैछ। नेपथ्यले सामुहिक रुपमा पहिलोपटक सन् २००४ मा अमेरिकाको यात्रा गरेको थियो। ब्यान्डको यो पाँचौ अमेरिका यात्रा हो ।
डालासमा आफूलाई प्रस्तुत गरिसकेपछि नेपथ्य समूहले केही रेकर्डिङ सम्वन्धि परामर्शका कामहरुमा आफूलाई ब्यस्त राख्नेछ। त्यसपछि ब्यान्ड जुन २४ मा बोस्टनको ‘रोयाल बोस्टन हल’ तताउनका लागि त्यसतर्फ जानेछ।
‘नेपथ्य हरेकपटक नजिकैको न्यूयोर्क सहरमा कन्सर्टका निम्ति आउँदा हामी साथीभाइहरु आफ्नो सहरमा यो ब्यान्डलाई कसरी ल्याउने भनेर चर्चा गर्थ्यौं,’ आयोजक बोस्टन तमु 8की सम्झना गुरुङ भन्छिन्, ‘यसपटक भने ‘जात्रा नेपाल’मा आबद्ध हाम्रा साथीहरु यस ब्यान्डको सम्पर्कमा आएको थाहा पाउनेबित्तिकै यो मौका हामीले छोपेका हौं।’
रजत वर्षका क्रममा नेपालभित्र र बाहिर थुप्रै यात्रा गर्दै आएकोमा संसारभरि छरिएर रहेका नेपथ्यप्रेमीहरुले देखाएको माया र सद्भावप्रति निकै खुसी लागेको ब्यान्डका मुख्य गायक अमृत गुरुङले बताए।
डालास र बोस्टनको कार्यक्रमपछि नेपथ्य टोली जुन २७ मा काठमाडौं फर्किनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।