काठमाडाैं- टोकियो ओलम्पिकमा दुई खेलाडीले नेपालको झण्डा बोक्ने भएका छन्। ओलम्पिकको उद्घाटन समारोहकाे मार्चपासमा दुई पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्न लागेका हुन्।
नेपाल ओलम्पिक कमिटीले एक दिन अघि मात्रै टोकियो ओलम्पिकको तयारीबारे पत्रकार सम्मेलन आयोजना गर्दा गौरिकाले मात्रै नेपालको झण्डा बोक्ने जनाएको थियो।
तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पहिलो पटक ‘जेन्डर ब्यालेन्स’ कायम गर्न हरेक देशबाट एक महिला र एक पुरुष खेलाडीले झण्डा बोक्न पाउने निर्णय गरेकाे छ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले नेपालबाट गौरिका र एलेक्सले नेपालको झण्डा बोक्ने पुष्टि गरे।
गौरिका र एलेक्स विशेष प्रशिक्षणका लागि जापान पुगिसकेका छन्। उनीहरु अहिले तोकुशिमामा प्रशिक्षणरत छन्।
यसपटक ओलम्पिकमा नेपालबाट गौरिका र एलेक्ससँगै सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन्।
टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।