एजेन्सी : स्पेनबाट अलग हुनुपर्ने क्याटालोनियावासीहरुकाे चर्को दबाबका बीच बार्सिलाेनामा भइरहेकाे जनमत संग्रहमा प्रहरी र सर्वसाधारण झडपमा उत्रिएछि अहिले बार्सिलोना र लास पाल्मासबीच स्पेनिस ला लिगाकाे खेल ‘क्लोज डोर’ अर्थात् रित्तो स्टेडियममा भइरहेको छ ।
बार्सिलोनाको धरेलु मैदान नोऊ क्याम्पमा भइरहेको खेलमा दुवै क्लबका खेलाडी र ‘अफिसियलबाहेक एक जना पनि दर्शक रगशालाभित्र छैनन् । सन् १९५७ मा निर्मित बार्सिलाेनाकाे रगशालाकाे दर्शक क्षमता ९९ हजार ३ सय ५४ छ। नोऊ क्याम्प स्पेनमात्र नभएर युरोपकै सबैभन्दा बढी दर्शक क्षमता भएको स्टेडियम हो ।
बार्सिलोना फुटबल क्लबले स्थानीय समयअनुसार ३ः१५ बजे निर्धारित खेल सुरु हुनुअघि त्यहाँ भएका घटनाको भत्र्सना गरेको थियो ।
क्लबका अनुसार आइतबारको खेल पछि सार्न स्पेनी लिगका अधिकारीहरू सहमत नभएपछि म्याच हुने भएको हो ।
महँगो टिकट किनेर लामबद्ध दर्शकलाई खेल सुरु हुनु १० मिनेटअघि मात्र प्रवेश नदिइने जानकारी दिइएको थियो । यसबाट अधिकांश दर्शक क्रुद्ध भएका थिए ।
यो पनि पढ्नुहोस : क्याम्प नोउको खाली मैदानमा मेसीको २ गोल
क्याटालोनिया प्रान्तले निकै वर्षयता स्पेनबाट छुट्टिएर स्वतन्त्र राज्य बन्ने प्रयास गरिरहेको छ । यसका लागि अक्टोबर १ अर्थात् आइतबार क्याटालोनियाले जनमत संग्रह गरेको थियो । तर स्पेन संवैधानिक अदालतले जनमत संग्रहलाई अवैध घोषणा गरेपछि मतदान केन्द्र राखिएका विद्यालयमा प्रहरीले हस्तक्षेप गरी मतपेटिका कब्जा गरेको थियो । यस क्रममा प्रहरी–सर्वसाधारण झडप समेत भएको थियो ।
प्रहरीले क्याटालोनियाको राजधानी बार्सिलोनामा जनमत संग्रहका कट्टर समर्थकमाथि लाठी चार्ज गर्नुका साथै रबरका गोली प्रहार गरेको थियो ।
क्याटालान आपत्कालीन सेवाले कम्तीमा पनि ३ सय ३७ जना घाइते भएको जनाएको छ ।
स्पेनका उपप्रधानमन्त्री सोराया स्यान्ज डे सान्टामारियाले प्रहरीले मर्यादित रुपमा काम गरेको दाबी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।