वासिङ्टन- जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्ने भएको छ।
यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन लागेको सन् २०१२ पछि अहिले पहिलोपटक भएको क्योयोदो न्युजले उल्लेख गरेको छ।
अहिले हुन लागेको टोकियो ओलम्पिकका आयोजकहरूले उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै सहभागी हुने अपेक्षा गरे पनि कोरोना भाइरसको महामारीका कारण उनी सहभागी नहुने भएको जनाइएको छ।
यसअघि सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले हुन लागेको हो। ओलम्पिक प्रतियोगिता आयोजना गरिएको स्थलमा अहिले आवतजावत खुल्ला गरिसकिएको छ।
प्रतियोगितास्थलमा विदेशी तथा स्वदेशी पाहुना तथा खेलाडी र उनीहरूको समूहलाई स्वागत गर्न थालिएको छ। आउनेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ।
यही जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुने तालिका रहेको छ। प्रतियोगितामा २०५ देशका खेलाडी सहभागी हुने आयोजकहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।