आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा।
कविवर माधवप्रसाद घिमिरेले क्या लेखे! उनको ‘वैशाख’ शीर्षकको कविताका यी हरफ मैले आज फेरि सम्झिएँ। दोहोरिएर आएको प्रतिगमन ढलेपछि सम्झन करै लाग्यो।
हरेक वर्ष चैत-वैशाख आएजस्तै प्रतिगमन पनि दोहोरिएर आयो। प्रधानमन्त्री केपी ओली सत्तामा रहुन्जेल प्रतिगमन ‘स्थायी शत्रु’ जस्तो भयो। विभिन्न रुप र अवतार धारण गरेर आइ नै रह्यो। र, अर्को संयोग- प्रतिगमन पछार्ने आन्दोलन समेत प्रायः चैत-वैशाखको सेरोफेरोमै हुने गरेको छ।
राणा, राजा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा थरिथरि शैलीका प्रतिगमन भए। विगत ३० वर्षमा त प्रतिगमनका स्वभाव पनि अनेक देखिए। अझै रोकिएको छैन। नयाँ–नयाँ स्वरुप देखिंदैछ। नजाने, अझै कति देख्नुछ।
प्रतिगमन कहिले ज्यानमारा बनेर आउँछ, कहिले सादा भेष धारण गरेर आउँछ। कहिले अध्यादेश बनेर आउँछ, कहिले संसद विघटनको घोषणा लिएर आउँछ। हरेक प्रतिगमनले ‘म नै राज्य हुँ’ भन्छ। देशै कब्जाको घोषणा गर्छ। संविधानलाई ‘कागजको खोस्टो’ भन्छ। संसदलाई बन्धक बनाएर अनिर्वाचित निर्णयमा रमाउँछ।
प्रतिगमनले संसदमा बसेर छलफल गर्न मान्दैन। घरै बसेर पार्टी र देश चलाउने रहर गर्छ। प्रतिपक्षमा बसे पनि सत्तासँग सौदा गरिरहन्छ र विरोध गरेजस्तो पनि गर्छ। प्रतिगमन भ्रमै भ्रमको चाङमा रमाएर बाँचेको हुन्छ। सल्लाहकारको पद पाएका अनेक चाटुकार भेला पारेर आफ्नो प्रशस्ति सुन्छ। देशमा आफ्नै हाई–हाई छ भन्ने भ्रममा पर्छ। अनि, यस्तै भ्रम छर्न रमाउँछ।
आफ्नो जग आफैंले खोतलेको मेसो नपाई एउटा प्रतिगमनको आयु सकिन्छ। एउटा प्रतिगमन झोलीतुम्बा बोकेर बाटो लाग्न नपाउँदै नयाँ प्रतिगमनले जरा हाल्छ। पालुवा पलाउँछ। हेर्दाहेर्दै नयाँ प्रतिगमन डरलाग्दोसँग झाङ्गिन्छ।
आफ्नो जग आफैंले खोतलेको मेसो नपाई एउटा प्रतिगमनको आयु सकिन्छ। एउटा प्रतिगमन झोलीतुम्बा बोकेर बाटो लाग्न नपाउँदै नयाँ प्रतिगमनले जरा हाल्छ। पालुवा पलाउँछ। हेर्दाहेर्दै नयाँ प्रतिगमन डरलाग्दोसँग झाङ्गिन्छ। नागरिक फेरि त्यो प्रतिगमनसँग जुध्न थाल्छन्। जब्बर प्रतिगमन हार मान्दैन। मन्त्रीमाथी मन्त्री थपेर सत्ताको आयु लम्बयाउने असफल प्रयास गर्छ। आफ्नो, अरुको, सबैको पार्टी फोड्ने रहर गर्छ। विरोधीलाई तह लगाउन अनेक अस्त्र फाल्छ। पाइला-पाइलामा हार्दाहार्दै पनि हार नमानी बिदा हुन्छ।
यसरी बिदा हुँदा उ बेहोस मात्र भएको हुन्छ। अलि समयपछि होश पलाउँछ। नयाँ नयाँ भेष धारण गरेर सत्ताको ओहोरदोहोर गरिरहन्छ। नागरिकहरु आजित हुन्छन्। प्रतिगामीहरु फेरिरहन्छन्। प्रजातन्त्र, लोकतन्त्र, राजतन्त्र, गणतन्त्र अनेक नाम दिएर प्रतिगमनको भूत मन्साउने नागरिकको आशा बारम्बार धूमिल हुन्छ, भइरहेकै छ।
प्रतिगमनको चक्रब्यूह हाम्रो स्थायी नियतिजस्तै भएको छ। सत्ताको मान्छे आम नागरिकको सुख–दुःखको साथीजस्तो बन्नै खोज्दैन। अनेक ‘सेटिङ’ गरेर सत्तारोहण गर्छ। सेटिङका खेलाडीहरुको रक्षा एकमात्र अभिष्ठ बन्छ। सेटिङको जालोमा अल्झिँदा राम्रै भेष धारण गरेको मान्छे पनि कालान्तरमा सानो–ठूलो प्रतिगामी भइदिन्छ।
कविवर माधवप्रसाद घिमिरेको कवितालाई सम्झँदै गर्दा नेपालीले ‘लगाई तह कैल्यै नसकिने प्रतिगमन नौलाख मेरा’ भन्नुपर्ने अवस्था फेरि आएको छ। जनताले सर्वोच्च अदालतको फैसलाले एक पटक फेरि प्रतिगमनलाई पछारेको महसुस गरेका छन्। तर, प्रतिगमनले त्यसो महसुस गर्नेवाला छैन। नेपालमा प्रतिगमनको जरा निकै बलियो छ। गहिरोसँग गडेको छ। भुइँ अलिकति खोस्रँदा जरा नदेखिएपछि आम नागरिकलाई ‘ए, तह लागेछ लौ!’ भन्ने भ्रम पर्छ। प्रतिगमनको उर्बर यो भुइँमा हराएको जरा खोज्दाखोज्दै हलक्क बढेको बुटो भेटिनेछ।
अब सर्वोच्च अदालतको फैसलाबारे चर्चा गरौं। सर्वोच्चले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री पदको सपथ गराउन राष्ट्रपतिका नाममा परमादेश समेत जारी गरेको छ। प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सात दिनभित्र संसदको बैठक बोलाउन पनि आदेश दिएको छ।
यो बीचमा राष्ट्रपतिको असंवैधानिक कदमको आडमा प्रधानमन्त्री ओलीले गरेका ‘काम’ पनि बिर्सनलायक छन्। ११ वैशाख २०७७ अर्थात गत वर्षको लोकतन्त्र दिवसमा प्रधानमन्त्रीका विश्वासपात्रहरुले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट ‘उठाएर’ काठमाडौं ल्याए। त्यसलगत्तै दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै ओली शासन ओरालो लाग्न थालेको थियो। यो ओरालो यात्रामा बेला–बेला उनी निरीह देखिए पनि धेरैजसो समयमा बलियाजस्ता देखिए। अनेक असंवैधानिक कदमको आडमा उनी ‘स्थायी प्रधानमन्त्री’ नै बन्ने हुन् कि जस्तो पनि देखियो। तर, यात्रामा आजबाट ब्रेक लागेजस्तो देखिएको छ।
११ वैशाख २०७७ देखि २८ असार २०७८ सम्मको यात्रा अरुले सम्झाउनु भन्दा पनि उनले नै फुर्सदमा सम्झेलान्। प्रतिगमनको यो लामो यात्रा लोकतन्त्रका लागि निकै महंगो साबित भयो। सपथग्रहण समारोहमै सत्य निष्ठामा ग्रहण लाग्यो। संविधानको धारा उल्लेख नगरी राष्ट्रपति कार्यालयले मन्त्री पदको सपथ खुवाउन थाल्यो। मन्त्री त कति फेरिए, कति! मन्त्रीमण्डल पुर्नगठन यो सरकारको नियमित कार्यशैली बन्यो।
ओलीको शासनकालमा शीतलनिवासको इज्जतमा ग्रहण लागेको छ। शीतलनिवासलाई नागरिकले अब लामो समय शंकाको दृष्टिले हेर्नेछन्। ‘संविधान च्यात्ने थलो’को रुपमा असाध्यै नमिठोसंग सम्झनेछन्।
प्रधानमन्त्रीका व्यक्तिगत बाधा अड्काउ फुकाउन संसद छल्दै अध्यादेशहरु रकेट गतिमा आउन थाले। पदबाट कहिल्यै ओर्लन पर्दैन, समाजसँग आँखा जुधाएर कहिल्यै हेर्नु पर्दैन र इतिहासका पाना कहिल्यै पढ्नु पर्दैन भने जसरी राष्ट्रपतिबाट अनेक असंवैधानिक काम भए। ओलीको शासनकालमा शीतलनिवासको इज्जतमा ग्रहण लागेको छ। शीतलनिवासलाई नागरिकले अब लामो समय शंकाको दृष्टिले हेर्नेछन्। ‘संविधान च्यात्ने थलो’को रुपमा असाध्यै नमिठोसँग सम्झनेछन्।
सर्वोच्च अदालतले एउटा प्रतिगमनलाई तह लगाएको खुशीसंगै भावी प्रतिगमनको भय पनि जोडिएको छ। शेरबहादुर देउवाजीको विगत धेरै कोट्याइरहनु जरुरी छैन। उनी निकै ‘अनुभवी प्रतिगामी’ हुन् भनेर कसैले भन्यो भने अन्यथा हुँदैन।
उनको सार्वजनिक जीवनको खाता एकपछि अर्को नराम्रो कामको भारीले खचाखच छ। अब राम्रो कामतिर पनि हात हाल्नुपर्ला भनेर उनले सोच्लान् र? ओलीले गरेका बिर्सनलायक कामबाट उनले पाठ सिक्लान्? जम्बो र भ्रष्ट मन्त्रीमण्डल, संसद विघटन, प्रतिगमनको प्रधानमन्त्रीदेखि निर्भीक प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रयाससम्मको यात्रा सम्झँदा देशमा प्रतिगमनको ‘नयाँ भेरियन्ट’ उत्पन्न हुन लागेको महसुस हुन्छ।
आफ्नो विगत आफैंले उल्टाउने गह्रौँ भारी उनीमाथी छ। तर, त्यसो हुने लक्षण देखिंदैन। उनको नयाँ प्रतिगामी यात्रा इँटाभट्टामा मान्छे जलाउने घटनाका प्रमुख पात्रको उन्मुक्तिबाट शुरु हुनसक्छ। इँटाभट्टामा मान्छे जलाउने व्यक्तिलाई ‘अन्यायमा पारिएको’ र उनलाई ‘न्याय दिलाउन’ पहल गरिने अभिव्यक्ति देउवाले उहिल्यै दिइसकेका छन्। यस्ता खालका पात्र र प्रवृत्तिप्रतिको मायामोह नै नयाँ प्रतिगमनको जग हुनसक्छ।
केपी ओलीको अन्तहीन अराजकताको एउटा प्रमुख कारण अत्यन्त कमजोर प्रतिपक्ष पनि हो। नेपाली कांग्रेसले राजनीतिक नियुक्तीमा लुकेर भाग थापेको रहस्य कसैबाट छिपेको छैन। त्यहीकारण कांग्रेसले ओलीको प्रतिगमनमा मौन समर्थन दिइरह्यो। प्रतिपक्षमा बस्दा नै प्रतिगमनलाई मलजल गरेको पार्टी सरकारमा बस्दा लोकतन्त्र र विधिको शासनलाई मलजल गर्न सक्ला?
देउवालाई साथ दिने पुष्पकमल दाहालको लोकतन्त्र र विधिको शासनप्रतिको निष्ठा पनि निकै कमजोर छ। अवसरवाद र अस्थिरतावाद नै उनको राजनीतिक जीवनको स्थायी चरित्र हो। देउवा र दाहालको कार्यगत शैलीमा खासै अन्तर छैन। दुवै दुस्साहसी, निरंकुश, व्यक्तिवादी र अपारदर्शी छन्। दुई जना मिलेर दुई ओली बराबरको प्रतिगमन गर्न सक्छन्। सत्ताका लागि राम्रो-नराम्रो, उचित-अनुचित केही हेर्ने बानी उनीहरुमा छैन। उनीहरुलाई पार्टीले लगाम लगाउन पनि सक्दैन। ओलीलाई लगाम लगाउने माधव नेपाल भए झैँ देउवालाई लगाम लगाउने बलियो प्रतिपक्ष कांग्रेसभित्र छैन। दाहालको पार्टी त निजी कम्पनीजस्तै छ।
राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवरणमा विभिन्न शैली र समयमा विभिन्न पात्रले प्रतिगमनको रहर गर्न छोडेका छैनन्। छोड्ने पनि छैनन्। सबैजना आ-आफ्नो जगप्रति इमानदार नै छन्।
यसो भए पनि नेपालमा प्रतिगमन विरोधी आवाज निकै बलियो छ। नागरिक आवाज त बलियो छ नै, न्यायको ढोकाभित्र प्रतिगमनलाई प्रवेश निषेध छ। सर्वोच्च अदालतले यसलाई बारम्बार पुष्टि गरेको छ। प्रतिगमनको लामो, पिरो र पिराहा यात्रा सम्झेर देउवाले विगतको गल्ती नदोहोर्याउन्। दाहालसँग मिलेर नयाँ भेरियन्टका प्रतिगमन रचना गर्नतिर पनि नलागून्। अब प्रतिगमनलाई ठाउँ छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।