काठमाडाैं- १४औं संस्करणकाे दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ मा पाकिस्तानमा हुने निश्चित भएको छ।
साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय गरेको हाे। घरेलु मैदानमा भएको १३औं सागमा नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको थियो।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठकाअनुसार सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन्।
२५ नियमित र आयोजक राष्ट्रका हैसियतमा पाकिस्तानले आफ्नो अनुकुलको दुई खेल थप गरेर साग आयोजना गर्ने उनले बताए। कुन-कुन खेल सहभागी गराउने र स्थानको बारेमा दोस्रो बैठकमा छलफल हुने उनले जानकारी दिए।
सागको उद्घाटन र समापन तथा मुख्य प्रतियोगिताहरु लाहोरमा हुनेछ। फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि प्रतियोगिता गर्न गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको महासचिव श्रेष्ठले बताए।
यस्तै, बैठकले सागको आयोजना हुने खेल स्थल निरिक्षण गर्न साउथ एसियन ओलम्पिक काउन्सिलका ओलम्पिक कमिटिलाई निमन्त्रण गरेकाे छ।
पाकिस्तानले दुईवर्ष अघि नै सन् २०२१ मा आयोजना गर्ने गरी नेपालबाट साग आयोजना अधिकारको झण्डा लगेको थियो।
त्यसपछि कोरोना भाइरसको महामारी बढेसँगै साग अनिश्चित बनेको थियो। तालिका अनुसार हरेक दुई वर्षमा साग आयोजना हुनुपर्नेछ।
प्रतियोगिता हुने तय भएसँगै अब नेपालले पनि तयारी सुरु गर्नेछ। नेपालले घरेलु भूमिमा दुई वर्षअघि आयोजना भएको १३औं सागमा ऐतिहासिक पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो।
नेपालले ५१ स्वर्ण, ९६ रजत र ९७ कास्य गरी २०७ पदक जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।