काठमाडाैं- अल्टिमेट फाइटिङ च्याम्पियन्सिप यूएफसीका पूर्वलाइटवेट च्याम्पियन कनर म्याकग्रेगोरको खुट्टाको चोटको सफल शल्यक्रिया भएको छ।
म्यानेजर ओडी अट्टरले म्याकग्रेगोरको देब्रे खुट्टाको टिबियाको सफल शल्यक्रिया भएको जानकारी दिएका हुन्।
शनिबार राति अमेरिका लास भेगसको टि–मोबाइल एरिनामा सम्पन्न खेलमा म्याकग्रेगोर डस्टिन पोइररसँग दोस्रोपटक पराजित भएका थिए।
पहिलो राउन्डमै खुट्टा भाँचिएपछि म्याकग्रेगोरलाई पोइररले नकआउट गरेका थिए। ‘शल्यक्रिया सफल भएको छ। तीन घण्टाको शल्यक्रियापछि उनको टिबिया र फिबुला रिकोभर भएको छ,’ म्यानेजर अट्टरले भनेका छन्।
सन् २०१४ मा म्याकग्रेगोरले पोइररलाई नकआउट गर्दै उनीविरुद्धको खेल जितेका थिए। त्यसपछि यसैवर्षको जनवरी २४ मा रिम्याच भएको थियो। सो खेलमा भने अमेरिकी पोइररले म्याकग्रेगोरलाई पराजित गरे।
त्यसपछि म्याकग्रेगोर र डस्टिनबिच लस भेगासमा शनिबार फाइट भएको हो। डस्टिनविरुद्ध पन्च प्रहार गर्ने क्रममा म्याकग्रेगोरको देब्रे खुट्टाको टिबिया भाचिएको थियो।
जसको कारण म्याकग्रेगर लड्न पुगेका थिए र रेफ्रीले खेल रोकेका थिए। पछि म्याकग्रेगर स्ट्रेचरको सहयताबाट रिङबाट बाहिरिएका थिए।
यो फाइटसँगै डस्टिन विजेता बनेर उदायका हुन्। म्याकग्रेगोर दुई पटकका विश्व विजेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।