काठमाडौं- झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर अनुगमन टोलीका सदस्य डा. भोजराज अधिकारीले टोलीबाट आफू अलग भएको घोषणा गरेका छन्।
डा. अधिकारीले चिकित्सा शिक्षा आयोगका अध्यक्ष र कार्यकारी समितिलाई पत्र लेख्दै प्रस्तावित बीएण्डसी मेडिकल कलेजको अनुगमनमा टोलीबाट भए/गरेका काममा आफ्नो कुनै संलग्नता नरहेको र प्रतिवेदनसमेत बुझाउन नसक्ने जानकारी गराएका हुन्।
बीएण्डसीको अनुगमनका लागि आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको तीन सदस्यीय अनुमगन टोलीमा डा. अधिकारी सदस्य थिए। डा. प्रकाशराज पाण्डे संयोजक रहेको टोली बीएण्डसीको अनुगमन गर्न असार ६ गते झापा पुगेको थियो। टोलीले असार ७ र ८ गते बीएण्डसीको अनुगमन गरेको थियो।
डा. अधिकारी आयोगका उपाध्यक्ष डा. गिरी र बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंबीच अदालतमा विचाराधीन रहेको गाली बेइजती मुद्दामा गिरीपक्षबाट साक्षी बसेका थिए।
डा. अधिकारीले उक्त कुरा आयोगका अध्यक्ष र कार्यकारी समितिलाई पठाएको पत्रमा पनि उल्लेख गरेका छन्। उनले आफू मुद्दामा साक्षी बसे पनि गिरी र प्रसाईंसँग कुनै लिनु/दिनु नरहेको कुरा पनि पत्रमा उल्लेख गरेका छन्।
'मेरो कुनै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहुँदा-नहुँदै पनि विभिन्न पत्रपत्रिकालगायत सामाजिक सञ्जालमासमेत मेरो नाम जोडिएकाले नैतिकताको आधारमा सो अनुगमन टोलीबाट भए/गरेका काममा मेरो कुनै संलग्नता नरहने र प्रतिवेदन बुझाउन नसक्ने व्यहोरा अनुरोध गर्दछु,' पत्रमा लेखिएको छ, 'यसमा डा. श्रीकृष्ण गिरी र दुर्गा प्रसाईंसँग मेरो कुनै लिनु/दिनु छैन।'
अनुगमन टोलीमा डा. गिरीको मुद्दामा साझी बसेका अधिकारीलाई राखेपछि विवाद सुरु भएको थियो। प्रसाईंले मुद्दाका साझीलाई नै अनुगमनमा राख्नु नैतिकताका हिसाबले पनि गलत भएको भन्दै प्रश्न उठाएका थिए।
उक्त कुरा बाहिर आएपछि अनुगमन टोलीका संयोजक डा. पाण्डेले स्वार्थको द्वन्द्व हुने भन्दै प्रतिवेदन बुझाउन अस्वीकार गरेका थिए। डा. अधिकारीले प्रतिवेदनसम्बन्धी कुनै काम नगरी फर्किएको कुरा पनि पत्रमा लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।