काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच सम्झौता भएको छ।
खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा शुक्रबार सम्झौता भएको हो।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता दुई वर्ष अर्थात २०८० सम्म रहेको छ। सम्झौता १ साउन २०७८ बाट लागु भई ३१ असार २०८० मा सम्झौता अवधि सकिनेछ। त्यसपछि पनि सम्झौता थपिने सम्भावना रहेको छ।
सम्झौता अनुसार सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा,रक्तसंचार सेवा, फार्मेसी सेवा, रेडियोलोजी/इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब सेवा, शल्यक्रिया सेवा (विभिन्न विषयका) र अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायतका सेवा) उपलब्ध गराउने छ।
यस्तै, न्युरो सर्जरी (बहिरङ/अन्तरङ सेवा), इएनटी (बहिरङ/अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाईमार्फत् औचित्य हेरि सहुलियतपूर्ण तवरले सेन्टरले उपलब्ध गराउने छ।
सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधीजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि विरामी स्वयंले व्यवस्था गर्नु/गराउनु पर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीहरुको भुक्तानी सेन्टरको सिफारिसका आधारमा विरामीले राखेपसंग सोधभर्नाका लागि पेश गर्न सक्ने छ।
खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नु पर्नेछ।
सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सर का विरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।