बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि १ हप्ता अगाडि अस्पताल भर्ना गरिएका उनको बुधबार बिहान निधन भएको हो।
११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिस इन्डियाको पेशावर (हाल पाकिस्तानी शहर)मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो।
त्यतिबेलाको बम्बइ (मुम्बइ)का फलफुल व्यापारीका छोरा युसुफले दिलीप कुमारको नामबाट सन् १९४० को दशकदेखि अभिनय यात्रा शुरु गरेका थिए। ५ दशकको आफ्नो करिअरमा उनले करिब ६० वटा फिल्ममा अभिनय गरेका थिए।
'फिल्म कम होऊन्, तर यादकार होऊन्' भन्ने मान्यता राख्ने दिलीप कुमारको निधनप्रति भारतका चर्चित फिल्मकर्मीसँगै राजनीतिज्ञहरुले पनि दु:ख व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक समवेदना संदेश दिँदै चर्चित अभिनेता दिलीप कुमारको निधन 'सांस्कृतिक विश्व' का लागि ठूलो क्षति भएको बताएका छन्।
यस्तै, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले दिलीप कुमारको निधनले एउटा संस्थाको अन्त्य भएको बताएका छन्। अमिताभले लेखेका छन्– 'एक संस्थाको अन्त्य भएको छ। जब भारतीय चलचित्रको इतिहास लेखिने छ, त्यो सधैं दिलीप कुमारभन्दा पहिले र दिलीप कुमारभन्दा पछि भनेर लेखिने छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।