काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले पूर्वाधारमा लगानी गर्ने र विकास खर्च गर्ने सरकारको नीति नआएको भन्दै बजेट सफल हुनेमा शंका रहेको बताएका छन्।
आयातमा निर्भर नेपालको अर्थनीति विस्थापित गर्दै निर्यातमुखी बजेट ल्याउनुपर्नेमा उक्त अवसरवाट सरकार चुकेको चौधरीले बताए।
आर्थिक वर्ष २०६१/०६२ सम्म आयात-निर्यातको अनुपात ७०:३० रहेकोमा अहिले ९४:६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शतप्रतिशत आयातमा नै निर्भर हुने बताएका हुन्।
‘हामीले जुन बाटो रोजेका छौं, त्यो बाटो तत्काल सच्याएनौं भने हाम्रो ट्रेड शतप्रतिशत आयातमा निर्भर हुनेछ,’ उनले भने, ‘यसको उपचार सानोतिनो ओखतीमूलो हुनेछैन, ठूलो शल्यक्रिया आवश्यक देखेको छु।’
'फ्याक्ट्री अफ द वर्ल्ड' मानिने भारत र चीनसँग नेपालले उत्पादनमा प्रतिस्पर्धा गर्न कठिन रहेको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए। भारतसँगको व्यापार घाटा अन्त्यका लागि नेपालबाट बिजुली बेच्नुको अर्को विकल्प नभएको चौधरीले बताए। ‘भारतसँगको व्यापार घाटा सच्याउने एउटामात्र उपाय पानीको व्यापार हो,’ चौधरीले भने, ‘५ हजार मेगावाटको कुनै आयोजना भारतलाई वर्तमान मूल्यमा बेच्न सकेमा अहिलेको व्यापार घाटा तत्काल पूर्ति गर्न सकिन्छ।’
चौधरीले राज्यको खर्च गर्ने क्षमता वृद्धि नभएसम्म जति ठूलो अंकको बजेट विनियोजन गरे पनि विकास नहुने तर्क गरे।
‘अहिले राज्यले कुल बजेटको १५ प्रतिशतभन्दा विकास खर्च गर्ने गरेको छैन, ८५ प्रतिशत साधारण खर्चमै अल्झेको छ,’ उनले भने, ‘हामीले विकासका नाममा जतिसुकै बजेट विनियोजन गरे पनि खर्च गर्ने क्षमता र शासकीय क्षमतामा वृद्धि गरेनौं भने अर्को वर्ष पनि यही नियत दोहोरिन्छ।’
अहिले प्रदेशहरुमा साढे ४ खर्बभन्दा बढी रकम विनियोजन भए पनि त्यो रकम खर्च हुनेमा चौधरीले आशंका गरे।
२०४८ सालमा तत्कालीन सरकारले लिएको उदार नीतिले मैत्रीनीतिका कारण नेपालले आर्थिक फड्को मारेको भन्दै चौधरीले राज्य उदार अर्थतन्त्रको दिशामा अघि बढ्नुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।