काठमाडौं– नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।
निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ।
मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

निगमले मूल्य बढाएपछि हवाई इन्धन (आन्तरिक उडान) प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानको ७५४ अमेरिकी डलर प्रतिकिलोलिटर पुगेको छ।
निगमले यसअघि असार ९ गते मात्रै इन्धनको मूल्य बढाएको थियो। इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट असार १७ गते प्राप्त नयाँ मूल्य सूचीमा मूल्य बढाएर आएकाले स्वचालिक मूल्य प्रणालीअनुसार समायोजन (मूल्य वृद्धि) गरिएको आयल निगमका प्रवक्त विनित मणि उपाध्यायले जानकारी दिए।
मूल्य बढाइएपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटिर ७ रुपैयाँ ५४ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ३५ पैसा र खाना पकाउने (एलपी) ग्यासमा प्रतिसिलिण्डर ३१९ रुपैयाँ ३२ पैसा घाटा रहेको उपाध्यायको भनाइ छ।
पछिल्लो ३ वर्षको अवधिको तुलनामा अहिले कच्चा तेलको मूल्य उच्च रहेकाले इन्धनको मूल्य बढिरहेको उपाध्यायको तर्क छ। साथै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्य हुने क्रम नरोकिने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहे इन्धनको मूल्य अझै बढ्नसक्ने उपाध्याय बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।