काठमाडौं- काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली आज मंगलबारदेखि हटेको छ। जोरबिजोर हटेसँगै यातायातका सबै साधन चल्न थालेका छन्। बिहानैदेखि उपत्यकाका तीनवटै जिल्लामा सवारीको चाप बढेको छ।
यद्यपि, सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ।
सफा टेम्पो र निलो माइक्रो पनि आजदेखि सञ्चालन भएका छन्। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
माइक्रोको तेस्रो सिटमा चार÷चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।
यस्तै, सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनपर्ने छ। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने प्रशासनले अनुरोध गरेको छ।
यस्तै, अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।