काठमाडौं– सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्न नभ्याइने भएर सरेको छ।
प्रारम्भिक सुनुवाइका लागि सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशमा पहिलो पेसी तोकिए पनि हेर्न नभ्याइएपछि अर्को दिनका लागि सरेको हो । उक्त रिटमा फेरि मंगलबारका लागि पेसी रहेको छ।
सुनारले आफू दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र महानगरीय प्रहरी बृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
कोठा भाडामा लिने/दिने मौखिक सहमति भइसकेको अवस्थामा आफूले दलित समुदाय (कामी) थरको भएको बताएपछि घरधनी प्रधानले कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन्।
उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, जातीय भेदभाव तथा छुवाछुत कसूरको कसूरदारलाई कानुनबमोजिम कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।