सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि गत साताबाट यो बडापत्र सञ्चालनमा ल्याइएको हो।
डिजिटल बडापत्रमार्फत् सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पुर्ण जानकारी सजिलै प्राप्त गर्नेछन्। आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसको लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पुर्ण जानकारी थाहा पाउन सकिने गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले बताए।
उनका अनुसार बडापत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाहरुको जानकारी समेत समेटिएको छ।
‘कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी यो डिजिटल बडापत्र तयार गरिएको छ,’ उनले भने,‘गाउँपालिकाबाट प्रदान हुने हरेक सेवाका बारेमा विस्तृतमा जानकारी राखिएको छ।’
यो डिजिटल बडापत्र अपाङ्गमैत्रीसमेत रहेको उनले बताए। ‘डिजिटल बोर्डमा आफूले चाहेको सेवामा थिचेपछि अडियो र भिडियो सन्देशमार्फत् जानकारीहरु प्राप्त हुन्छ। हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टी तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्दछन्,’ अधिकृत दंगालले भने।
सेवाग्राहीले सेवा लिन आँउदा प्रकृया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए। यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
‘हामी सकेसम्म सेवाग्राहीलाई विना झण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचिरहेका छौं,’ उनले भने,‘त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।